एजेन्सी – प्रिमियर लिगमा आज लिभरपुलले म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ। उपाधि होडमा रहेको लिभरपुलले शिर्ष चारको दौडमा रहेको युनाइटेडको आज राति सामना गर्न लागेको हो। लिभरपुल र युनाइटेड बीचको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ।
लिभरपुल अहिले प्रिमियर लिगको दोस्रो स्थानमा छ भने युनाइटेड पाँचौ स्थानमा रहेको छ। लिभरपुलले सिजनका ३१ खेल खेलेको छ। यसबीचमा उसले मात्रै दुई खेलमा पराजय भोगेको छ भने २२ खेलमा जित निकालेको छ। लिभरपुलको ७३ अंक छ।
त्यस्तै युनाइटेडले पनि प्रिमियर लिगमा ३२ खेल खेलिसकेको छ। युनाइटेडले अहिले सम्म ८ खेलमा पराजय भोगिसकेको छ। युनाइटेडले १५ खेलमा जित निकालेको छ। युनाइटेडको ५४ अंक छ।
दुवै टोलीका लागि आज हुने खेल महत्वपूर्ण हुनेछ। युनाइटेडसँग हारेको अवस्था अथवा बराबरी खेलेको अवस्थामा उपाधि होडमा लिभरपुललाई झड्का लाग्नेछ। त्यस्तै युनाइटेड पनि जित निकाल्ने पर्ने दबावमा हुनेछ।
लिभरपुल र युनाइटेड बीचको खेलमा यस अगाडी लिभरपुलले शानदार जित निकालेको थियो। त्यसबेला लिभरपुल ५-० ले विजयी भएको थियो। युनाइटेड सो लज्जास्पद हारको बदला लिने दाउमा हुनेछ।
लिभरपुल र युनाइटेड बीचको खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। यो खेल भारतीय च्यानल स्टार स्पोर्ट्स २ मा हेर्न सकिनेछ।

