एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले क्लबको जादू प्रकाशमा आउँदै गरेको बताएका छन्। रियलले एक पछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्न थालेसँगै एन्सेलोटीले टोलीको जादू चर्चामा आउन थालेको बताएका हुन्।
एक मिडियासँग कुराकानी गर्नेक्रममा सिजनको सुखद अन्त्य गर्ने पक्षमा आफूहरु रहेको एन्सेलोटीले बताए। धेरै भन्दा धेरै राम्रोसँग सिजनको अन्त्य गर्ने आफूहरुको योजना रहेको उनको भनाई छ।
“यो क्लब, यो टोली र यी खेलाडीहरूको जादू प्रकाशमा आउँदैछ। सिजनको अन्त्य नजिकै छ र हामी सकेसम्म राम्रोसँग समाप्त गर्ने आशा गर्दछौं।”,एन्सेलोटीले भने।
एन्सेलोटीले फाइनलसम्म प्रतिस्पर्धा गर्ने रियलको इतिहास, गुणस्तर र परम्परा रहेको बताए। उनले भने,”रियल म्याड्रिडसँग फाइनलसम्म प्रतिस्पर्धा गर्ने इतिहास, गुणस्तर र परम्परा छ।”
त्यस्तै अन्तर्वार्ताका क्रममा एन्सेलोटीले म्यानचेस्टर सिटी विरुद्ध कठिन परीक्षा बाँकी रहेको पनि स्मरण गरे। उनले भने,”अब सिटी विरुद्ध कठिन परीक्षा बाँकी छ। हामी सिटी विरुद्ध आफ्नो खेल देखाउनेछौँ। अवे गोल नियम खारेज भएपछि भिडन्तहरूलाई थप सन्तुलित र रोमाञ्चक भएको छ।”

