काठमाडौँ (मुड्खुभन्ज्याङ), वैशाख १० गते । सङ्घीय राजधानीसँग जोडिएको पासाङल्हामुु राजमार्गको मुड्खुभन्ज्याङदेखि ककनीसम्मको सडक विस्तार तथा स्तरोन्नति सुरु भएको आठ वर्ष भयो तर काम भने अलपत्र छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ।
सम्बन्धित निकाय र निर्माण कम्पनीको चरम लापरबाहीका कारण कुल १७.०१ किलोमिटरको सो सडकखण्ड नबन्दा स्थानीयवासीले आठ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यति मात्र नभई राजधानीबाट फोहोर बोकेका गाडी त्यसतर्फ जान नपाउँदा सङ्घीय राजधानी काठमाडौँमा पटक–पटक फोहोर थुप्रिंदै आएको छ ।
सो सडकखण्डको निर्माण गरिदिन प्रधानमन्त्रीको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागमा पटक–पटक धाउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।
सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजनासँग शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको नेपालको सैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी) सँग २०७१ जेठ ५ गते ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता रकम ३१
करोड चार लाख ६४ हजार रुपियाँ रहेकामा अहिले सो रकम ३४ करोड ९४ लाख रुपियाँ पुगेको छ ।
सडक विस्तार तथा स्तरोन्नतिका लागि आठ वर्षमा सात पटक म्याद थपिए पनि अहिलेसम्म आधा पनि काम पूरा भएको छैन । सातौँ पटकको म्याद गत वर्ष चैतमै सकिए पनि काम भने ४० प्रतिशत मात्रै भएको छ ।
स्थानीयवासीले सो सडक निर्माणको माग गर्दै संयुक्त सङ्घर्ष समिति गठन गरी मुड्खुभन्ज्याङदेखि तीनपिप्ले खण्डमा फागुन १ देखि सडक अवरुद्ध गर्दै आएका छन् । यही सडक हुँदै काठमाडौँ उपत्यकाको फोहोर सिसडोल लाने गरिन्छ ।
यसै क्रममा सङ्घर्ष समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सो सडक निर्माण गर्न स्थानीयवासीसँग भएको सहमतिको म्याद सकिए पनि निर्माण सुरु हुन नसकेकाले पुनः काठमाडौँ उपत्यकाको फोहोर सिसडोल लाने सवारीसाधन अवरोध गर्ने जनाएको छ ।
समितिका संयोजक भवनाथ गजुरेलले निर्माण सम्पन्न नहुँदा सडकमा समान्य हिँडडुल गर्नसमेत कठिन भएको र दैनिक सवारीसाधन दुर्घटनामा पर्ने गरेको, स्थानीयवासीमा दमजस्ता रोग बढेको, पर्यटनलगायतका व्यवसाय चौपट्टै बनेको बताउनुभयो । उहाँले सडक कालोपत्रे हुनुपर्ने आफूहरूको एकसूत्रीय माग रहेको बताउनुभयो । सडक निर्माण सुरु नभएसम्म स्थानीयवासीले काठमाडौँको फोहोर सिसडोलसम्म जान नदिने दाबी उहाँको छ ।

