फेरी ओरालो लाग्न थाल्यो बार्सिलोना, घरमै स्तब्ध !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा घरेलु मैदानमै रायो भालेकानोसँग स्तब्ध बनेको छ । बार्सिलोना १–० ले स्तब्ध बनेको हो ।

नोउक्याम्पमा घरेलु टोलीलाई स्तब्ध पार्न रायो भालेकानोका अल्भारो गार्सियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले सातौ मिनेटमा इसी पालाजोनको पासमा गोल गर्न सफल भएका थिए ।

सम्हालिन नपाउँदै गोल खाएको बार्सिलोनाले त्यसपछि ७१ प्रतिशत बल पोसेसन राख्दै पाहुना टोलीलाई लगातार दवावमा राखेपनि रायो भालेकानोको रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

बार्सिलोनाले घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको हो । यसअघि युरोपा लिगमा आइनट्राख्ट फ्रान्कफुर्टसँग पराजित भएको बार्सिलोना त्यसपछि क्याडिजसँग १–० ले स्तब्ध बनेको थियो ।

यो हारले बार्सिलोनाको ला लिगा उपाधि यात्रामा धक्का लाग्दा शीर्षस्थानको रियल म्याड्रिडलाई थप सहज भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्षस्थानको रियल भन्दा १५ अंकले पछि छ । रियलको ७८ तथा बार्सिलोनाको ६३ अंक छ ।

अब रियललाई च्याम्पियन बन्न स्पान्योलसँगको बराबरीको नतिजा नै पर्याप्त हुनेछ । बार्सिलोनालाई हराएको रायो भालेकानो ४० अंक जोडेर ११औं स्थानमा उक्लिएको छ ।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९०८:५८

पछि परेको अवस्थामा समेत एसी मिलानले खेल उल्ट्यायो, शीर्षस्थानमा उक्लियो !