एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्पेनिस डिफेन्डर सर्जियो रामोसले रियल म्याड्रिडबाट पिएसजी आएपछि घुलमिल हुन कठिन भएको स्वीकार गरेका छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा रामोसले पिएसजीमा घुलमिल हुन आफूलाई समय लागेको बताएका हुन्।
पिएसजीको आफ्नै मिडिया च्यानलसँग कुराकानी गर्नेक्रममा रामोसले धेरै लामो समय पछि नयाँ क्लबमा खेल्नु पर्दा असहज भएको स्वीकार गरे। नयाँ क्लब, नयाँ शहरमा घुलमिल हुन समय लागेको रामोसको भनाई छ।
“शुरुमा यहाँ अनुकूलन हुन मलाई धेरै गार्हो परेको थियो। म धेरै वर्ष पछि नयाँ क्लबमा थिएँ। पहिला सबै नियन्त्रणमा थिए, क्लब, घर, बालबालिकाको विद्यालय सबै सहज थियो। सबै परिवर्तन हुँदा केहि असहज भयो।”,रामोसले भने।
रामोसले पेरिसमा घर पाउन गार्हो परेको पनि अनुभव सुनाए। उनले भने,”पेरिस जत्तिकै रमणीय शहरमा घर पाउन धेरै कठिन रहेछ। पहिला पेरिसमा धेरै गार्हो पर्यो”
अन्तर्वार्ताका क्रममा रामोसले शुरु-शुरुमा पिएसजीमा असहज भएपनि घुलमिल हुन धेरै समय नलागेको पनि बताए। चिनजानका खेलाडीहरु रहेकाकारण आफूलाई राहत मिलेको रामोसको भनाई छ।
“शुरुमा गार्हो परेपनि घुलमिल हुन धेरै समय भने लागेन। यहाँ मैले यस अगाडी नै सँगै खेलिसकेका खेलाडीहरु पनि थिए। उनीहरुका कारण यहाँ घुलमिल हुन मलाई सहज भयो।”,रामोसले भने।

