काठमाडौँ – दुबई पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भिजिट भिषामा दुबई पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका-५ घर भई ठेंचो बस्दै आएका ३३ वर्षीय विकास तामाङ र मोरङ रतुवामाई नगपालिका-९ घर भई शान्तिनगर बस्दै आएका २० वर्षीय विक्रम मिश्र रहेका छन्।
प्रहरीले दिएको जानकारी अनुसार पक्राउ गरिएका उनीहरुले युनाइटेड अरब इमिरेट्स(दुबई)मा मासिक ३ हजार दिराम तलबको प्रलोभन देखाएर ठगी गरेका थिए। नीहरूले ५ जनालाई प्रतिव्यक्ति एक लाख ९० हजार रुपैयाँका दरले ठगी गरेको पाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरीले विकासलाई बिहीबार चुच्चेपाटी र तामाङलाई शुक्रबार जावलाखेलबाट पक्राउ गरेको हो। नौ लाख ५० हजार ठगी गरेको भन्दै पिडित पक्षले उजुरी दिएपछि दुवैलाई पक्राउ गरिएको बताइएको छ।
वैदेशिक रोजगार विभागको अनुरोधमा पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको भनाई छ। प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि दुवैलाई वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाएको जनाएको छ।

