काठमाडौँ – दोस्रो पटक भरतपुरमा महानगरपालिकाको मेयर हुने रेणु दाहालको योजनामा धक्का लागेको छ। सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी कायमै राखेसँगै रेणुको योजनामा धक्का पुगेको हो।
पार्टी सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा मन्त्रीहरुले निरन्तर उम्मेदवारी गराउन प्रयास गरेपनि पौडेलले उम्मेदवारी फिर्ता गरेनन्।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापतिले उम्मेदवारी फिर्ता गराउनको लागि गृहमन्त्री बालकृष्ण खाणलाई नै खटाएका थिए। खाणले उम्मेदवारी फिर्ता गराउन झन्डै ४० घण्टा भरतपुरमा बसेर प्रयास गरेका थिए। तर उनको प्रयास समेत खेर गयो।
शुक्रबार साँझ ५ बजेसम्म नाम फिर्ता दिन समय निर्धारण गरिएकोमा पौडेलले उम्मेदवारी फिर्ता लिएनन्। उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले अब अन्तिम नामावली प्रकाशन गर्नेछ।
पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध दिएको ‘बागी’ उम्मेदवारी फिर्ता नगरेपछि उनी पार्टीबाट निष्काशित भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धन दलका शीर्षनेताको बैठकले गठबन्धन बाहिरको चुनावी तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय गरेको छ थियो। सो निर्णय अनुसार पौडेल पार्टीबाट निष्काशित भएका हुन्।

