एजेन्सी – युवा स्टार एर्लिङ ब्राउट हालान्डको ह्याट्रिकका बावजुत डर्टमुन्ड घरेलु मैदानमा बोचुमसँग स्तब्ध बनेको छ । डर्टमुन्ड घरेलु मैदानमा बोचुमसँग ४–३ ले पराजित भएको हो ।
सुरुवातमै २–० ले पछि परेको डर्टमुन्डले खेलमा फर्कदै ३–२ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा थप दुई गोल बेहोर्दै हार भोग्न पुग्यो । बोचुमका सवास्टिएन पोल्टेर, जेरिट हल्टमान, योर्गेन लोकाडिया र मिलोस पान्टोभिकले गोल गरे । डर्टमुन्डका हालान्डले ह्याट्रिक पुरा गरे ।
सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोली खेलको तेस्रो मिनेटमा नै सेवास्टिएनको गोलबाट पछि परेको थियो । आठौं मिनेटमा जेरिट हल्टमानले गोल गर्दै बोचुमको अग्रता दोब्बर पारे ।
१८औं मिनेटमा हालान्डले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३०औं मिनेटमा हालान्डले पेनाल्टीमै गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६२औं मिनेटमा कप्तान मार्काे रिउसको पासमा हालान्डले गोल गर्दै ह्याट्रिक पुरा गरेपछि डर्टमुन्ड खेलमा ३–२ ले अघि बढ्यो ।
तर, डर्टमुन्डले त्यो अग्रतालाई जोगान सकेन । ८१औं मिनेटमा योर्गेन लोकाडियाले मिलोस पान्टोभिकको पासमा गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि ८५औं मिनेटमा मिलोस पान्टोभिकले पेनाल्टीमा गोल गर्दै डर्टमुन्डलाई हार चखाए ।
यो हारसँगै शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी छोट्याउने अवसर गुमाउँदा डर्टमुन्ड ३२ खेलबाट ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको बायर्नको ७५ अंक छ । बोचुम ३९ अंक जोडेर ११औं स्थानमा रहेको छ ।
अन्य नतिजा
अर्मेनिया विलेफिल्डविरुद्ध हर्था (१–१), अग्सवर्गविरुद्ध कोल्न (१–४), मेइन्जविरुद्ध बायर्न (३–१), स्टुटगार्टविरुद्ध वल्फ्सवर्ग (१–१) र होफेनहाइनविरुद्ध फ्रेइवर्ग (३–४)