एजेन्सी – यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । शीर्षस्थानमा रहेको सिटीले लिड्समाथि उसकै मैदानमा ४–० को फराकिलो जित आत्मसात गरेको हो ।
एलान रोड लिड्समा शनिबार राति भएको खेलमा सिटीको जितमा रोड्री, नाथन एके, गाब्रियल जेसस र फर्नान्डिन्होले गोल गरे । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
खेलको १३औं मिनेटमा रोड्रीको गोलबाट सिटीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए । दोस्रो गोलको लागि भने सिटीले दोस्रो हाफ नै कुर्नुपर्यो ।
५४औं मिनेटमा नाथन एकेले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । एकेले रुवेन डियासको पासलाई सदुपयोग गरेका थिए । ७८औं मिनेटमा गाब्रियल जेससले फोडेनकै पासमा गोल गर्दै सिटीलाई सहज जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई फराकिलो जित दिलाए ।
यो जितसँगै सिटीले शीर्षस्थानमा १ अंकको अग्रतालाई यथावत राख्न सफल भएको छ । शीर्षस्थानमा रहेको सिटीको ३४ खेलबाट ८३ अंक पुगेको छ । सिटीलाई लगातार दवाव बढाइरहेको लिभरपुलको ८२ अंक छ ।
पराजित लिड्सलाई भने रेलिगेसनको दवाव बढेको छ । लिड्स ३४ खेलबाट ३४ अंक जोडेर १७औं स्थानमा रहँदा दुई खेल कम खेलेको एभर्टन २९ अंक जोडेर २९ अंक जोडेर रेलिगेसन जोनमा रहेको छ ।
अन्य नतिजा
न्यूक्यासलविरुद्ध लिभरपुल (०–१), एस्टन भिल्लाविरुद्ध नर्विच (२–०), साउथह्याम्टनविरुद्ध क्रिस्टल प्यालेस (१–२), वाट्फोर्डविरुद्ध बर्नले (१–२) र वल्भ्सविरुद्ध ब्राइटन (०–३)