एजेन्सी – फ्रेन्च विंगर उस्मान डेम्बेलेको भविष्य अझै अनिश्चित छ। डेम्बेले आउने केहि महिना भित्रै फ्री एजेन्ट हुँदैछन्। सम्झौता सकिने समय आउँदै गर्दा क्याटलान क्लब बार्सिलोना तनावमा छ। डेम्बेलेले आफ्नो भविष्य बारे कुनै निर्णय गरिसकेका छैनन्।
बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेज डेम्बेलेलाई क्लबमै राख्न चाहन्छन्। क्लबको दिर्घकालिन योजनामा डेम्बेलेलाई समावेश गर्ने जाभीको चाहना छ। रोनाल्ड कोम्यान बार्सिलोनाको प्रशिक्षक हुँदा उनले नियमित मौका पाउन सकिरहेका थिएनन्। जसकारण उनी बार्सिलोना छाड्ने अवस्थामा पुगेका थिए। तर जाभी आएपछि अवस्था फेरिएको छ।
जाभीले क्लबको जिम्मेवारी सम्हालेपछि डेम्बेले एक पटक पुनः ‘लाइमलाइट’मा छन्। सन् २०२२ लागेपछि डेम्बेले केहि महिना उच्च लयमा देखिएका थिए। पछिल्लो समय भने उनको प्रदर्शन त्यति सन्तोषजनक छैन।
सम्झौता सकिने समय नजिक आइरहेको अवस्थामा बार्सिलोनाले डेम्बेलेलाई क्लबमै राख्न अन्तिम प्रयास गर्ने तयारी गरिरहेको छ। खबरका अनुसार बार्सिलोनाले छिट्टै नै नयाँ सम्झौता डेम्बेलेलाई प्रस्ताव गर्नेछ।
पिएसजीको चासो
डेम्बेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को प्राथमिकतामा रहेको कुरा नयाँ होइन। पिएसजीले डेम्बेलेलाई लामो समय देखि पछ्याइरहेको छ। पिएसजीले डेम्बेलेलाई फ्री ट्रान्सफरमा भित्र्याउन खोजेको ट्रान्सफर मार्केटका जानकारीहरु बताउँछन्। पिएसजी डेम्बेलेलाई वार्षिक १७ मिलियन युरो सम्म पारिश्रमिक दिन तयार रहेको फ्रेन्च मिडियाहरुको दावी छ।