एजेन्सी – फुटबलमा लियोनेल मेस्सीको प्रभाव अनन्त छ। उनको करियरको सबैभन्दा प्रसिद्ध क्षणहरू मध्ये सन् २०१७ को एलक्लासिकोमा अन्तिम मिनेटमा उनले गरेको निर्णायक गोललाई लिइन्छ। सो गोल मेस्सीको ऐतिहाँसिक कोशेढुंगा थियो।
उक्त गोलसँगै मेस्सीको करियर गोल ५ सय पुगेको थियो। त्यसबेला मेस्सीले जर्सी नै खोलेर खुशियाली मनाएका थिए। मेस्सीले आफ्नो जर्सी खोलेर रियल म्याड्रिडका समर्थकहरूलाई देखाएका थिए।
त्यहि जर्सी हालसालै सामाजिक सञ्जाल लिलामीमा बिक्रीको लागि राखिएको थियो। एक इन्स्टाग्राम प्रयोगकर्ताले सो जर्सी बिक्रीमा राखेका थिए। ती इन्स्टाग्राम प्रयोगकर्ताले जर्सीलाई बिक्रीमा राख्दै लेखेका थिए,”यो मेरो सङ्कलनमा आइपुगेको छ… त्यो जर्सी जुन लियो [मेस्सी] ले एल क्लासिकोमा आफ्नो ५०० औं गोल पूरा गर्दा लगाएका थिए।”
सो जर्सी बिक्रीमा राखिएलगतै कयौंले कयौं प्रस्ताव गरे। मेस्सीको सो जर्सी अन्तिममा ठूलो मूल्यमा लिलामी भयो। जर्सी ४ लाख ५० हजार डलरमा बिक्री भयो। यो रकम नेपालीमा साढे ५ करोड भन्दा बढी हुन आउँछ।