एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका भेट्रान मिडफिल्डर जेम्स मिल्नरको सम्झौता आउने केहि महिना भित्रै सकिँदैछ। मिल्नर यहि सिजनको अन्त्यमा फ्री ट्रान्सफरमा उपलब्ध हुन सक्छन्।
तर हालसालै आएको खबर अनुसार लिभरपुल र उनी एक सम्झौतामा पुग्न सक्ने देखिन्छ। मिल्नरको सम्झौता एक वर्षका लागि थप हुन सक्ने सम्भावना बढेको बेलायती मिडियाहरु बताउँछन्।
लिभरपुलले मिल्नरलाई सन् २०२३ सम्मका लागि सम्झौता प्रस्ताव गरेको बेलायती मिडिया टेलिग्राफले जनाएको छ। प्रस्तावित नयाँ सम्झौता अनुसार उनी सन् २०२२-२३ को सिजनको अन्त्य सम्म लिभरपुलमा रहनेछन्।
“यो निश्चित देखिन्छ कि मिल्नरले आफ्नो नयाँ सम्झौतामा हस्ताक्षर गर्नेछन्। अस्थायी रूपमा अर्को वर्ष सम्म उनले आफ्नो भविष्य बारे सोच्नुपर्ने छैन।”,टेलिग्राफले आफ्नो समाचारमा उल्लेख गरेको छ।
टेलिग्राफका अनुसार प्रशिक्षक योर्गेन क्लोप आफैंले क्लबलाई मिल्नरको सम्झौता थप गर्न आग्रह गरेका थिए। विभिन्न स्थानमा खेल्न सक्ने खेलाडी मिल्नरलाई थप एक सिजन क्लबमा राख्ने क्लोपको चाहनाका कारण क्लबले नयाँ सम्झौता प्रस्ताव गरेको बताइन्छ।