एजेन्सी – इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले रियल म्याड्रिडको बसाई सकाएपछि सन्यास लिने सम्भावना रहेको बताएका छन्। हालसालै एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा एन्सेलोटीले म्याड्रिड बसाई सकिएपछि सन्यास लिने तर्फ आफूले सोचिरहेको बताएका हुन्।
रियल म्याड्रिडलाई लालिगा दिलाएका एन्सेलोटीले क्लबले चाहेसम्म क्लबमा रहने र क्लब छाड्नुपर्ने अवस्था आएपछि प्रशिक्षण पेशाबाट सन्यास लिने बताए। क्लबले चाहेको खण्डमा १० वर्ष सम्म रियलमा रहन आफू तयार रहेको बताउन पनि एन्सेलोटीले छुटाएनन्।
“रियल म्याड्रिडमा यो अवधि पछि मैले सन्यास लिने सम्भावना छ। तर यदि रियल म्याड्रिडले मलाई थप १० वर्ष यहाँ रहन चाहन्छ भने, म अझै १० वर्ष यहाँ रहनेछु।”,एन्सेलोटीले अमेजन प्राइम भिडियोलाई बताए।
प्रशिक्षण पेशामा लागेपछि निजी कामहरुका लागि कम समय हुने गरेका कारण सन्यास लिएपछि निजी जीवनलाई व्यवस्थित बनाउने आफ्नो योजना रहेको उनले सुनाए। विश्वका धेरै स्थानमा नपुगेको उल्लेख गर्दै उनले राम्रा स्थानहरुको भ्रमण गर्ने योजना रहेको उनको भनाई छ।
अन्तर्वार्ताका क्रममा एन्सेलोटीले रियल छाडेपछि कुनै पनि राष्ट्रिय टोलीमा आवद्ध हुने तर्फ आफूले सोच्न सक्ने बताए। उनलाई क्यानडाको राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने सोच छ भनेर प्रश्न गरिएको थियो। त्यसक्रममा उनले क्यानाडाले पछिल्लो समय धेरै राम्रो गरिरहेका कारण सो कामका लागि आफू इच्छुक हुने बताए।