एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका भेट्रान मिडफिल्डर लुका मोड्रिचले भाग्यले मात्र च्याम्पियन्स लिग जितिन्छ भन्ने कुरा गलत रहेको बताएका छन्। रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको फाइनलमा पुग्न भाग्यले साथ दिनुपर्छ भनेर प्रश्न गरिँदा मोड्रिचले त्यस्तो बताएका हुन्।
च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीको सामना गर्नु अगाडी आयोजित पत्रकार सम्मेलनमा भेट्रानले भाग्यका कारण रियलले च्याम्पियन्स लिग जितिरहेको छ भनेर टिप्पणी गर्नेहरु देख्दा हाँसो लाग्ने बताए। भाग्यका कारण रियलले च्याम्पियन्स लिग जित्छ भन्नु अन्यायपूर्ण हुन जाने उनको भनाई छ।
“यस्तो सोच्ने मानिसहरूलाई हामी केही भन्दैनौं। जे चाहन्छन् भनिराखुन्। भाग्यमा भर परेर कति पटक च्याम्पियन्स लिग जित्न सकिन्छ ? भाग्यका कारण मात्र जितिन्छ भन्ने मलाई चाहिँ लाग्दैन। यसो भन्नु अन्यायपूर्ण हुन्छ।”,पत्रकारहरुले प्रश्न गर्दा मोड्रिचले भने।
बाहिरका मानिसहरुले के भन्छन् भन्ने कुरालाई ध्यान दिएर साध्य नहुने मोड्रिचले बताए। बाहिर जे जसो भनिएपनि आफूहरु मिहिनेत गर्न नछाड्ने मोड्रिचको भनाई छ।
उनले भने,”यस्ता कुरा सुन्दा हामीलाई हाँसो लाग्छ। यद्यपि सबैले आफूले चाहेको कुरा भन्न सक्छन्। हामी जे गर्न चाहन्छौं त्यसमा केन्द्रित छौं र मानिसहरूले बाहिरबाट के भन्छन् भन्ने कुरालाई वास्ता गर्दैनौं। ठूला प्रतिद्वन्द्वीहरूलाई हराउन र ट्रफीहरू जित्न भाग्य भएर मात्र पुग्दैन। चरित्र, व्यक्तित्व, विश्वास हुनुपर्छ।”