सत्ता गठबन्धनको चुनावी अभियानमा मतभेद सुरु, भित्र-भित्रै सल्किँदै आयो !

काठमाडौं । सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ । सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबनधनमा आशंका शुरु भएको छ ।

भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार माओवादीका रेणु दाहालविरुद्ध कांग्रेसबाटै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनुभएको छ ।

पौडेललाई पार्टीले कारवाही गरे पनि उम्मेदवारी फिर्ता लिनुभएको छैन । यस्ता खालको बागी उम्मेदवारीका कारण माओवादीले कांग्रेसलाई शंकाको दृष्टिले हेर्दै आएको छ ।

सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको उम्मेदवार बनेका धनराज आचार्यविरुद्ध पनि कांग्रेसबाटै विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिनुभएको छ । कांग्रेसले कार्कीलाई कारबाही गरे पनि उम्मेदवारी कायमै राखेपछि गठबन्धनको उम्मेदवारले जित्नेमा आशंका पैदा भएको छ ।

गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले एकले अर्कालाई शंकाको दृष्टिकोणबाट हेर्दा अविश्वास पैदा भएको गठबन्धनका एक नेता बताउँछन् ।तर नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले भने फरक–फरक पार्टीबीच गठबन्धन हुँदा केही आंशका हुनु अस्वाभाविक नभएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो– ‘यो गठबन्धन तत्कालको आवश्यक्तालाई हेरेर गरिएको हो । एउटै पार्टीभित्र त भिन्नभिन्न मत हुन्छ, पाँच दलबीच फरक विचार हुन कुनै नौलो विषय होइन ।’ उहाँले मतभेदका बाबजुद पनि गठबन्धनका साझा उम्मेदवारलाई जिताउने अभियानमा गठबन्धनमा ठूलो असमझदारी नरहेको बताउनुभयो ।

प्रकाशित : बुधबार, बैशाख २१, २०७९०९:००

इलाममा एमालेलाई विरासत जोगाउने चुनौती !