एजेन्सी – रियाल मड्रिडले शनिबार स्पानियोलमाथिको जितसँगै स्पेनिस ला लिगाको उपाधि जित्यो। बुधबार च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा म्याचेस्टर सिटीको सामना गर्दा कार्लो एन्सेलोट्टीको टोली पुनरागमनसहित जितलयको निरन्तरता दिन चाहन्छ।
रियालले ला लिगाको उपाधि जित्ने क्रममा स्पानियोललाई ४–० ले पराजित गरेको थियो। ‘अब बुधबार हामीले अर्को उपाधि चुम्नु छ,’ एन्सेलोट्टीले भनेका थिए, ‘पुनरागमनसहित च्याम्पियन्स लिग फाइनलको टिकट।
धेरै समर्थकले च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लेगमा हार व्यहोरेका कारण पनि रियालले ला लिगाको उपाधि जितेको खुसीयाली मनाउनु उपयुक्त नभएको भन्दै विरोध जनाएका थिए। रियाल पहिलो लेगमा सिटीसँग ४–३ ले निराश भएको थियो।
रियाल १४औं युरोपियन च्याम्पियन्स लिग उपाधिको खोजीमा छ। यस सिजनसँगै ला लिगाको उपाधिमा रियालले आफ्नो नाम लेखाएको यो ३५औं पटक हो। एन्सेलोट्टी ला लिगाको सफलताबाट टोलीको मनोबल बढेकाले च्याम्पियन्स लिगमा पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छन्।
‘आज हामी ला लिगाको उपाधि जितेको खुसी मनाइरहेका छौं र यसले खेलाडीको मानसिक दबाब कम गर्ने काम गरेको छ,’ एन्सेलोट्टीले भनेका थिए, ‘हामी व्यावसायिक खेलाडी हौं। आज हामी सबै उपाधि जितेको खुुसीयाली साटिरहेका छाैँ। हामी भोलिबाटै अभ्यास सुरु गर्छौँ र बुधबार हाम्रा लागि अर्को महत्वपूर्ण खेल छ। आशा छ, हामीले पुनरागमन जितसहित फाइनलको टिकट पक्का गर्नेर्छौँ।’
रियालले क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा पनि पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध पहिलो लेग गुमाए पनि दोस्रो लेगमा पुनरागमन जितसहित अघिल्लो चरणमा स्थान बनाएको थियो।
करिम बेन्जेमा र लुका मोडरिच जारी सिजन रियालका लागि सबेैभन्दा प्रभावशाली खेलाडी बन्दै आएका छन्। त्यसैले रियालले सिटीविरुद्धको पुनरागमनमा पनि यी दुई खेलाडीबाट प्रभावशाली प्रदर्शनको अपेक्षा गरेको छ।
सबै खाले प्रतियोगिता गरी पछिल्लो १३ खेलमा मात्र बेन्जेमाले १८ गोल गरिसकेका छन्। यस क्रममा उनले पिएसजी र चेल्सीविरुद्ध ह्याट्रिक पूरा गरिसकेका छन्। त्यस्तै उनले रियाल मालोर्का, सेल्टा भिगो र सिटीविरुद्ध दुई गोल गरेका थिए।
‘हामीले राम्रो सुरुआत गरे पनि मध्यान्तरपछि बढी आत्मविश्वासी बन्दा गोलअन्तर फराकिलो पार्ने अवसर गुमायांै,’ सिटीका फिल फोडेनले भने, ‘हामीले यस्तो टोलीसँग खेल्दै छांै, जो च्याम्पियन्स लिगकै सर्वाधिक सफल टोलीमध्येको एक हो। उनीहरूलाई कमजोर रूपमा लिनु हाम्रो गल्ती हुनेछ। हामीले दोस्रो लेगमा पनि स्वाभाविक प्रदर्शनलाई निरन्तरता दिनुपर्दछ।’
रियालले यसअघि तीन पटक मात्र ला लिगा र च्याम्पियन्स लिग गरी वर्षको दोहोरो उपाधि जितेको छ। रियालले सन् १९५७, १९९८ र २०१७ मा ला लिगा र च्याम्पियन्स लिग गरी दोहोरो उपाधि जितेको छ।
-नागरिक दैनिकबाट