२०२१/२२ च्याम्पियन्स लिगको फाइनल शनिबार मे २८ मा रियल म्याड्रिड र लिभरपुलबीचको सेन्ट डेनिस (पेरिस)स्थित स्टेड डे फ्रान्समा २१:००(जीएमटी) मा खेलिनेछ। नेपालमा उक्त खेल भारतीय खेल च्यानल सोनी टेन नेटवर्कमा हेर्न सकिनेछ।
सेमिफाइनलमा भिल्लारियललाई हराउँदै लिभरपुल फाइनलमा पुगेको छ भने रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। सन् १९९८ को विश्वकप आयोजना गर्न बनेको स्टेड डे फ्रान्समा यो तेस्रो फाइनल खेलिनेछ। पहिलो २००० मा भ्यालेन्सिया र रियल म्याड्रिड बीच भएको थियो, जुन रियल म्याड्रिडले जितेको थियो। अर्को २००६ मा थियो, जब बार्सिलोनाले आर्सनललाई हराएको थियो। यसले युरो २०१६ को अन्य खेलहरूका साथै फाइनल पनि आयोजना गरेको थियो।
पहिले यो खेल सेन्ट पिटर्सबर्गको ग्याजप्रोम एरिनामा खेलिने थियो तर रुसले युक्रेनमा आक्रमण गरेपछि युइएफएले स्थान परिवर्तन गरेको हो। यी दुई टोलीबीचको यो तेस्रो फाइनल हुनेछ। पहिलो १९८१ मा पेरिस मा पार्क डे प्रिन्सेसमा भएको थियो। लिभरपुल १–० ले विजयी भएको थियो। अन्तिम सन् २०१८ मा कीभमा भएको थियो, जहाँ लस ब्लान्कोसले ३-१ ले जितेको थियो।
च्याम्पियन्स लिगको फाइनल कहिले र कहाँ ?
च्याम्पियन्स लिगको फाइनल शनिबार, मे २८ मा पेरिसको स्टेड डी फ्रान्समा २१:०० बजे खेलाइनेछ। ८०,००० भन्दा बढी दर्शक क्षमताको स्टेड डे फ्रान्स, १९९८ को विश्वकप अघि फ्रान्स र स्पेन बीचको मैत्रीपूर्ण खेलबाट उद्घाटन गरिएको थियो। त्यस वर्षको विश्वकपको फाइनलमा ब्राजिललाई हराउँदै फ्रान्सले उपाधि जितेको थियो।

