स्थानीय तह निर्वाचन : गालीगलौजदेखि झडपसम्म ! कहाँ के भए ?

काठमाडौं । राजनीतिक दलहरूले स्थानीय तहको आगामी निर्वाचनका लागि आफ्नो प्रचारप्रसार तीव्र बनाएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन अब आठ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै दलहरूबीच अस्वस्थ्य प्रतिस्पर्धा पनि बढेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

यसअघि दलका नेता, उम्मेदवार र कार्यकर्ताहरू आचारसंहिताको खिल्ली उडाउँदै एकअर्काप्रति गालीगलौजमा मात्र ब्यस्त थिए । एकअर्कालाई होच्याउने र तल्लो स्तरका अप्रिय शब्दहरू प्रयोग गर्ने होडमा दलका शीर्ष नेताहरू नै पनि सक्रिय थिए ।

तर, पछिल्लो समय दलका कार्यकर्ताहरू मतदाताको मन जित्नभन्दा पनि एकअर्काप्रति भौतिक आक्रमणमै ओर्लिन थालेका छन् । विभिन्न स्थानमा चुनावी तालमेल गरेका सत्तारूढ गठबन्धन दलहरूबीच नै झडप भएका छन् ।

यसको पछिल्लो उदाहरण रोल्पा र रुकुमका घटना हुन् । नेकपा माआवादी केन्द्रको गतिलो प्रभाव रहेको रुकुम पश्चिम र रोल्पामा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताबीच झडप भएको छ । रोल्पाका अधिकांश स्थानमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तथा कांग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल छ ।

झडपमा परी माडी गाउँपालिका वडा–३ का कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मीनवहादुर डाँगी घाइते भएको बताइएको छ । माडी गाउँपालिका–३ को चुनावी सभामा सहभागी भएर फर्कने क्रममा दुई समूहबीच झडप भएको हो । घाइते घर्तीमगरलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

झपकको विषयमा दुबै पक्षले एकअर्कालाई दोष लगाएका छन् । कांग्रेस–एमाले पक्षले अर्को पक्षले पहिले आक्रमण गरेको बताएको छ । माओवादी केन्द्र–एकीकृत समाजवादी पक्षले पनि पहिला अर्को पक्षले आक्रमण सुरु गरेपछि आफूहरूले प्रतिवाद गरेको बताएको छ । स्थानीय प्रहरीले पनि दुई पक्षबीच झडप भएको समाचारको पुष्टि गरेको छ । प्रहरी घटना सामान्य भएको पनि बताएको छ ।

यसैगरी रुकुम पश्चिममा भने माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी कार्यालयमै तोडफोड गरेका छन् । रूकुम पश्चिमको नुवाकोट प्रहरीचौकीमा माओवादी केन्द्रका कार्यकर्ताले तोडफोड गरेका हुन् । कांग्रेस निकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाइसिएलले चौकी तोडफोड गरेको बताइएको छ ।

कांग्रेस र माओवादीका कार्यकर्ताबीच पनि ढुंगा हानाहान भएको थियो । कांग्रेसका कार्यकर्ता प्रहरी चौकीभित्र छिरेपछि वाइसिएलका कार्यकर्ताले उनीहरूलाई बाहिर निकाल्न माग गरेका थिए । झडपका क्रममा दुवै पक्षका केही कार्यकर्ता घाइते भएको बताइएको छ ।

बुधबार राती पनि माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका त्रिवेणी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको गाडी तोडफोड गरेका थिए । त्यसक्रममा पनि दुबै पक्षका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो ।

यसअघि बुधबार कञ्चनपुरमा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको थियो । भीमदत्त नगरपालिका–१९ बागफाँटामा भएको घटनामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी घाइते भएका थिए ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले बागफाँटामा संयुक्त ¥याली निकालेको थियो । सोही क्रममा माओवादी केन्द्रका कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको भन्दै एमालेले प्रहरीमा उजुरी पनि दिएको छ ।

बागफाँटा प्रहरी चौकीका इन्चार्ज वीरेन्द्र पुजराले एमाले र माओवादी कार्यकर्ताबीच सामान्य विवाद भएको बताए । प्रहरीका अनुसार, बागफाँटामा माओवादीको ¥याली थियो । त्यो ¥यालीमा एमालेका कार्यकर्ता पनि पुगेपछि विवाद सुरु भएको थियो । घटनाको विषयमा दुबै पक्षबाट उजुरी आएको जानकारी पनि प्रहरीले दिएको छ ।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९०८:४५

अझै गएन संकटमा परेपछि धम्क्याउने प्रचण्डको बानि, फेरी चितवनवासीलाई धम्क्याए !