फेरी अर्को विवादमा आरजु, कांग्रेसमा भोट हाल्नेलाई ‘बम्पर अफर’ !

काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा एक पछि अर्को विवादमा पर्न थालेकी छन्। पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने चेतावनी दिएर विवादमा परेको एक दिन नबित्दै आरजुले फेरी विवादास्पद अभिव्यक्ति दिएकी हुन्।

शुक्रबार कैलालीमा आयोजित एक कार्यक्रममा उनले नेपाली कांग्रेसमा भोट हाल्नेलाई फ्री भिसा र फ्री टिकटमा मलेसिया पठाइदिने आश्वासन नै दिन भ्याइन्। धनगढीमा चुनावी सभालाई सम्बोधनका क्रममा उनले त्यहाँका स्थानीयलाई फ्री भिसा र फ्री टिकटमा मलेसिया पठाइदिने आश्वासन दिएकी हुन्।

कांग्रेसलाई जिताए सबैलाई नसकेपनि आफूलाई आउने कोटाबाट केहिलाई फ्री भिसा र टिकटमा मलेसिया पठाइदिने उनको भनाई छ। प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी समेत रहेकी आरजुले मलेसिया पठाउन नसके रोजगारी दिन कोसिस गर्ने बताइन्।

“सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो। यो क्षेत्रलाई हामी विशेष ध्यान दिन्छौँ, तपाईंहरुले कांग्रेसलाई जिताउनुस्। हामी सबैलाई गर्न सक्दैनौँ। तर, यो ठाउँमा दु:ख पाएकाहरु केहीलाई पढाउने छु। मलेसिया जाने कोही भएमा मलाई आउने कोटाबाट फ्री भिसा र टिकट मिलाउनेछु। हामी त्यस्ता ५-६ जनालाई मलेसिया पठाउँछौ। तर सबैलाई लान सकिन्न, नसके यहीँ रोजगारी दिन कोसिस गर्छौँ।”,उनले भनिन्।

यस अगाडी डडेल्धुरामा आयोजित पार्टीको कार्यक्रममा आरजुले पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने बताएकी थिइन्। कांग्रेसले मेयर नजित्ने नगरपालिकामा बजेट नपठाउने उनको चेतावनी थियो।

“कांग्रेसको मेयर नै हुनुहुन्न भने हामीले किन पैसा पठाउँछौँ? त्यसैले यो कुरालाई तपाईंहरुले ध्यान दिनुहोला। करुवा-सरुवा-हरुवा पार्टीहरूलाई भोट नहाल्नु होला, कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउनु जरुरी छैन।”,उनले भनेकी थिइन्।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९२१:५०

असार भित्र गठबन्धन टुट्ने ओलीको भविष्यवाणी, मिती नै तोकिदिए !