काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्टीका कारण देश दुर्घटनामा पर्ने अवस्था शिर्जना भएको बताएका छन्। शनिबार पोखरा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा लिङ्देनले ठूला भनिएका पार्टीहरुकै कारण देश दुर्घटनामा पर्ने अवस्थामा पुगेको बताएका हुन्।
पोखरामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै लिङ्देनले कांग्रेस, एमाले, माओवादीलगायत ठूला पार्टी गलत बाटोमा हिँडिरहेको आरोप लगाए। ठूला दल आफ्नो गल्ती सच्याउन तयार नहुँदा देश संकटमा परेको लिङ्देनको भनाई छ।
एमाले र कांग्रेसका जनप्रतिनिधिले भ्रष्टाचार मात्र गरेको आरोप उनले लगाए। ठूला भनिएका दलहरूले जनतालाई कर बढाउने र भ्रष्टाचार गर्ने गरेको उनको आरोप छ। देशलाई कुनै पनि दुर्घटनामा जान नदिइ बचाउन राप्रपाको पक्षमा मतदान गर्नुको विकल्प नरहेको लिङ्देनले दावी गरे।
ठूला पार्टीका इमान्दार र देशभक्त कार्यकर्तालाई आफ्नो पार्टी र नेता नसुध्रिएको लिङ्देनले बताए। आगामी निर्वाचनमा भोट हाल्नुअघि हजार पटक सोच्न उनको आग्रह छ।
उनले भने,”हातै काटेर मत दिने कुरा भएकाले धेरैपटक सोच्नु होला। कसैका बाबुबाजे नेता भएको आधारमा, कोही जेल बसेकै आधारमा नभई अहिले के गरिरहेका छन् भन्ने हेरेर मत दिनुपर्छ।”