काठमाडौँ – तपाईंको शिशु पाँच वर्षमुनिका छन्? आँखाको नानीको बीचभागमा असमान्य सेतो दाग देखिन्छ? यस्तो दात छ भने आँखाको क्यान्सर पनि हुन सक्छ। पाँच वर्षमुनिका शिशुको आँखा परीक्षण गरी समयमै आँखाको क्यान्सरको पहिचान गर्न ढिला भएमा आँखाको क्यान्सरको उपचार नहुने चिकित्सकले सुझाएका छन्।
विकसित देशमा बालबालिकामा हुने आँखाको क्यान्सरका कारण ५ प्रतिशतको मात्र मृत्यु हुने गरेकामा नेपालसहित विकासोन्मुख देशहरूमा क्याक्सर भएकामध्ये ५० प्रतिशतको मृत्यु हुने गरेको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताहको अवसरमा उक्त कुराको जानकारी दिएको हो।
बालबालिकाको दुवै आँखाको भित्री भागको पर्दाबाट पलाउने क्यान्सरलाई रेटिनोब्लास्टोमा भनिन्छ। यो नवजात शिशुदेखि पाँच वर्ष मुनिका बालबालिकाहरूमा देखापर्छ। प्रति १५ हजार नवजात शिशुमध्ये एक जनामा यस्तो समस्या हुन्छ। यो रोगमा ढिला उपचार भएमागमा फैलिएर शिशुको मृत्युसमेत हुनसक्छ। आँखाको क्यान्सर जटिल रोग भए पनि समयमै उपचार पाएमा बालबालिका पूर्ण रूपमा क्यान्सरमुक्त हुन सक्छन्।
नेपालमा आँखाको भागमा सेतो देखिनुलाई भाग्यमानी बालबालिकाका रूपमा हेरिने रुढीवादी परम्परा भएकाले आँखाको क्यान्सर भएकाहरूको सुरुमै उपचार हुन नसकेको प्रतिष्ठानकी डाक्टर पूर्णिमा राजकर्णिकार बताउँछिन्। ‘आँखाको नानीको भागमा सेतो देखिनु भनेको रोग हुन सक्छ भन्ने धेरैलाई ज्ञान छैन, यो कारण पनि रोग छिप्पिइसकेपछि मात्र उपचारमा पुग्छन्’ डा. पूर्णिमाले भनिन्।
चिकित्सकका अनुसार शिशुको आँखाको बीच भागमा सेतो ज्योति देखिए पनि बालबालिकाहरू स्वस्थ नै देखिन्छन्। जसका कारण बालबालिकामा रहेको समस्या बालबालिकालाई सुरुमै थाहा हुँदैन।
यसका साथै रंगिन फोटोमा आँखाको नानी सेतो देखिनु, आँखाको नानी डेडो देखिनु, दुवै नानी उस्तै नदेखिनु, आँखा डेडो हुनु, आँखा रातो हुनु, दृष्टि कम हुनु, आँखाको आकार ठूलो हुँदै जानु र आँखा बाहिरतिर आउनु, आँखाको आकार सामान्य रूपमा बढिरहनुजस्ता आँखाजन्य समस्यासमेत देखिन सक्छ। यो क्यान्सर आँखाको बाहिर या दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको मृत्युसमेत हुनसक्छ।
-नागरिक दैनिकबाट

