एजेन्सी – मंगलबार राति क्याटलान क्लब बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गर्यो। सिजनको ३६ औं खेलमा बार्सिलोनाले सेल्टा डि भिगो विरुद्ध ३-१ को जित निकालेको हो। बार्सिलोनाको जितमा पिएरे इमरिक औवामियाङको दुई तथा डच फरवार्ड मेम्पिस डिपाएले एक गोल।
जित निस्किएको सो खेलमा औसमाने डेम्वेलेले उच्च प्रदर्शन गरेका थिए। बार्सिलोनाको तर्फबाट भएका तीन मध्ये दुई गोलमा उनको भूमिका थियो। बार्सिलोनाको तर्फबाट भएको दुई गोलका लागि डेम्वेलेले नै असिस्ट दिएका थिए। ३०औं मिनेटमा मेम्फिस डिपाएले र ४१औं मिनेटमा औवामियाङले गोल गर्दै दुवै असिस्ट डेम्वेलेले दिएका थिए।
थप दुई असिस्टसँगै डेम्वेले लालिगाको जारी सिजनको शिर्ष असिस्ट दिने खेलाडी बनेका छन्। रियल म्याड्रिडका करिम बेन्जेमालाई पछि पार्दै डेम्बेले लालिगाका शिर्ष असिस्ट दिने खेलाडी बनेका हुन्।
लालिगाको जारी सिजनमा बेन्जेमाले ११ असिस्ट दिएका छन्। कुल ३० खेलमा बेन्जेमाले यो संख्यामा असिस्ट दिएका हुन्। डेम्बेलेको नाममा भने १३ असिस्ट छ। तर यो संख्यामा असिस्ट उनले मात्रै २० खेलमा दिएका हुन्।
तिघ्रामा समस्या देखिएका कारण डेम्बेलेले सिजनको शुरुवातमा १३ खेल गुमाएका थिए। तर जाभी प्रशिक्षकको रुपमा आएपछि उनी बार्सिलोनाको महत्वपूर्ण खेलाडीको रुपमा देखिएका छन्। डेम्बेले जाभी अन्तर्गत रहेर बार्सिलोना गएपछिकै उत्कृष्ट फुटबल खेलिरहेका छन्।