एजेन्सी – मर्सिसाइड क्लब लिभरपुल एफए कपको च्याम्पियन बनेको छ । टाइब्रेकरमा गोलरक्षक एलिसन बेकर नायक बनेपछि प्रिमियर लिग क्लब चेल्सीलाई ६–५ ले पराजित गर्दै लिभरपुल च्याम्पियन बनेको हो ।
वेम्वली स्टेडियममा शनिबार राति भएको खेलको निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि टाइब्रेकरमा लिभरपुलले बाजी मारेको हो ।
लिभरपुलका जेम्स मिल्नर, थियागो अलकान्तरा, रोबर्टाे फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, डिएगो जोटा र कोन्सटाटिनोस टिसिमिकासले गोल गर्दा साडियो मानेले गोल गर्न सकेनन् । चेल्सीका मार्काेस अलन्सो, रिस जेम्स, रोस बार्कले, जर्गिन्हो र हाकिम जियाचले गोल गर्दा सेसर एज्पिलिक्वेटा र मासन माउन्टले गोल गर्न सकेनन् ।
त्यसअघि प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट गोलका केही अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्विएको थियो । टाइब्रेकरमा लिभरपुलका ब्राजिली गोलरक्षक एलिसन बेकर नायक बने । उनले चेल्सीलाई दुई पेनाल्टीलाई बचाउँदै लिभरपुललाई सिजनको दोस्रो उपाधि दिलाउन सफल भए ।
एलिसनले चेल्सीको दोस्रो पेनाल्टीमा सेसर एज्पिलिक्वेटा र सातौ पेनाल्टीमा मासन माउन्टको प्रहारलाई बचाएका थिए । पाँचौ पेनाल्टीमा साडियो माने चुकेपछि टाइब्रेकर रोमाञ्चक मोडमा पुगेको थियो । तर, त्यसपछि लिभरपुलले लगातार दुई गोल गर्दा चेल्सीले निर्णायक पेनाल्टीमा गोल गर्न सकेनन् ।
लिभरपुल यो सिजन चार उपाधि जित्ने संघारमा रहँदा दुई उपाधि जितिसकेको छ । लिभरपुलले यसअघि लिग कपको उपाधि जितिसकेको छ । लिभरपुल प्रिमियर लिगको उपााधि नजिक रहँदा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरिसकेको छ ।
चेल्सी भने लगातार तीन सिजन फाइनल पुगेपनि उपाधिबाट बञ्चित बन्यो । गत सिजन चेल्सी लेस्टर सिटीसँग तथा त्यो भन्दा अघि आर्सनलसँग पराजित भएको थियो ।