आज देखि सातामा दुई दिन बिदा, एक वर्षमा बिदा मात्रै १ सय ४६ दिन !

काठमाडौँ – सरकारले सार्वजनिक बिदा कटौती नगरी सातामा दुई दिन बिदा दिन लागेको छ। सरकारको यो निर्णय आज आइतबार (जेठ १) देखि लागु हुँदैछ। अब २०७९ मा सार्वजनिक बिदा मात्रै १ सय ४७ दिन हुनेछ। यसबाट सेवाग्राही मारमा पर्नेछन् भने सरकारले उठाउने राजस्वमा समेत नकारात्मक प्रभाव पर्नेछ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

२०७८ चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा कटौती गरी सातामा दुई दिन बिदा दिने र यसका लागि एउटा कार्यविधि बनाउने निर्णय गरेको थियो। तर सार्वजनिक बिदा नगरी सरकारले सातामा दुई दिन बिदा दिन लागेको हो। नेपाल आयल निगमको सिफारिसमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो। सातामा दुई दिन बिदा दिँदा इन्धन कटौती हुने आयल निगमको बुझाइ छ।

तर आयल निगमकै केही अधिकारी सातामा दुई दिन बिदा दिए ५ देखि ७ प्रतिशत मात्र इन्धन कटौती हुने अनुमान गर्छन्। ‘सातामा दुई दिन बिदा दिए बढीमा ५ देखि ७ प्रतिशत मात्र इन्धन कटौती हुन्छ,’ निगमका सहायक प्रवक्ता पुष्कर कार्कीले भने, ‘त्यो पनि नहुन सक्छ, किनभने बिदाको दिन कर्मचारी घुमफिरमा निस्कने सम्भावना बढी हुन्छ।’ सातामा दुई दिन बिदा दिए इन्धनमा कति रुपैयाँ जोगियो भन्ने हिसाबकिताब जेठ मसान्तमा आउने उनको भनाइ छ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने सातामा दुई दिन बिदा दिने निर्णयबाट सेवाग्राही तथा उपभोक्ता चर्को मारमा पर्ने बताउँदै यो निर्णय तत्काल सच्याउन माग गरे। ‘यो निर्णयबाट सरकार तत्काल पछि हट्नुपर्छ,’ उनले भने, ‘यो निर्णय गलत छ।’

सातामा दुई दिन बिदा दिने निर्णयबाट सरकारी खर्च जोगिनेभन्दा पनि सरकारले उठाउँदै आएको राजस्वमा नकारात्मक प्रभाव पर्न सक्ने अर्थ मन्त्रालयका एक उपसचिव बताउँछन्। ‘कति इन्धन जोगिन्छ भन्ने मात्र हेरियो। सरकारले उठाउने राजस्वमा कति प्रभाव पर्छ भनेर हिसाबकिताब गरेको देखिएन,’ उनले भने। उनको अनुमानमा सातामा दुई दिन बिदा दिए इन्धनमा सरकारी खर्च महिनामा १८ देखि २० लाख रुपैयाँ मात्र जोगिन्छ।

पूर्वमुख्यसचिव डा. विमल कोइरालाले भने सातामा दुई दिन बिदा दिने कि एक दिन बिदा दिने भन्ने प्रश्नभन्दा पनि सरकारी कर्मचारीहरूले सेवाग्राहीहरूलाई कसरी सेवा दिएका छन् र सरकारको निगरानी व्यवस्था कति प्रभावकारी छ, त्यो महत्त्वपूर्ण विषय भएको बताए।

‘कर्मचारीहरू सातामा ४० घन्टा काम गर्ने र सेवाग्राहीलाई प्रभावकारी सेवा दिने विश्वव्यापी मान्यता हो। सातामा दुई दिन बिदा दिएर पनि सेवाग्राहीको काम हुन सकेन भने त्यो बिदाको कुनै महत्त्व हुँदैन,’ उनले भने।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९०७:४८

कांग्रेस ‘मालामाल’, कम्युनिस्ट-मधेसवादी दल विभाजनको उठायो फाइदा !