एजेन्सी – उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । दुई गोलले पछि परेको सिटीले पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएपनि वेस्ट ह्याम युनाइटेडसँग २–२ गोलको बराबरी खेलेको हो ।
लन्डन स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली वेस्ट ह्यामका लागि दुवै गोल जारोड वोवेनले गर्दा सिटीका लागि ज्याक ग्रेलिसले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
खेलको २४औं मिनेटमा पाब्लो फोर्नाल्सको पासमा जारोड वोवेनले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाए । ४५औं मिनेटमा वोवेनले मिचेन एन्टोनियोको पासमा व्यक्तिगत र टोलीका लागि गोल गर्दै वेस्ट ह्यामको अग्रता दोब्बर पारे ।
४९औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिए । उनले रोड्रीको पासमा गोल गर्न सफल भएका थिए । ६९औं मिनेटमा भ्लादिमिर कोउफलले आत्मघाती गोल गरेपछि सिटी हारबाट जोगियो ।
८६औं मिनेटमा सिटीले अग्रता लिने सुवर्ण मौका खेर फाल्दा सिटी जितबाट वञ्चित बन्यो । रियाद महारेजको पेनाल्टीलाई वेस्ट ह्यामका गोलरक्षक लुकास्ज फाविएन्स्कीले बचाउँदै वेस्ट ह्यामलाई हारबाट जोगाए ।
यो बराबरीसँगै शीर्षस्थानमा रहेको सिटीले अग्रता फराकिलो बनाउने अवसर गुमाउँदा दोस्रो स्थानको लिभरपुललाई फाइदा पुगेको छ ।
सिटीको ३७ खेलबाट ९० अंक तथा दोस्रो स्थानमा रहेको लिभरपुलको ८६ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ । वेस्ट ह्याम ५६ अंक जोडेर सातौ स्थानमा रहेको छ ।