रेन्जर्स कि फ्रान्कफर्ट: आज को बन्ला युरोपा लिग च्याम्पियन? कुन च्यानलमा हेर्ने खेल ?

एजेन्सी – युरोपा लिग २०२१-२२ सिजनको फाइनल खेलमा उपाधिका लागि आज राति स्कटिस क्लब रेन्जर्स र जर्मन क्लब फ्रान्कफर्ट आमने-सामने हुँदैछन्। स्पेनको सेभिल्लामा स्थित रामोन सान्चेज स्टेडियममा हुने खेलमा रेन्जर्स र फ्रान्कफर्ट उपाधिका लागि आमने-सामने हुन लागेका हुन्।

फाइनल खेल एक लेगको मात्र हुने भएकोले आजको खेलमा दुवै टोली जित निकालेर प्रतिष्ठित उपाधि उचाल्ने दाउमा हुनेछन्। आ-आफ्नो घरेलु लिगमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेका दुवै टोली आज उपाधि जित्दै यस सिजन सकारात्मक रूपमा अन्त्य गर्न चाहन्छन्।  जर्मन लिगमा खासै राम्रो प्रदर्शन गर्न नसकको फ्रान्कफर्ट यस सिजन युरोपमा भने निकै उत्कृष्ट खेल खेल्दै आएको छ।

अघिल्लो चरणका खेलहरुमा जर्मन क्लबले प्रतियोगिताका दुई प्रमुख दाबेदार मानिएका बार्सिलोना र वेस्ट ह्याम दुवैलाई पराजित गरेको छ। त्यस्तै, स्कटिस लिगमा दोस्रो स्थानमा रहेको रेन्जर्सले पनि यसअघिका खेलहरुमा आरबी लाइपजिंग जस्तो बलियो टोलीलाई पराजित गरिसकेको छ। आजको खेल जित्दै उपाधि जित्ने टोलीले अर्को सिजनको च्याम्पियन्स लिगको समूह चरणमा सोझै स्थान पक्का गर्नेछ।

खेल कुन च्यानलमा हेर्ने ?

रेन्जर्स र फ्रान्कफर्ट बीचको युरोपा लिग फाइनल खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। यो खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। नेपालमा हुनेहरुले यो खेल भारतीय च्यानल सोनी टेन नेटवर्कमा हेर्न सक्नेछन्।

प्रकाशित : बुधबार, जेठ ०४, २०७९११:२०

यसरी आँखाभरी आँसु झार्दै युभेन्टसबाट बिदा भए डिबाला [भिडियो सहित]