मुटुमा समस्या देखिनुअघि अगुएरोले भोग्न परेको त्यो अस्वभाविक पिडा …

एजेन्सी– अर्जेन्टिनी फुटबल टोलीका पूर्व स्टार सर्जियो अगुएरोले सिजनको सुरुवातमा मुटुमा समस्या देखिनुअघि आफूले गरेको अस्वभाविक अनुभव सार्वजनिक गरेका छन् ।

यसै सिजनको सुरुवातमा म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेका ३३ वर्षे फरवार्डले मुटुकै समस्याका कारण फुटबलबाट सन्यास लिन बाध्य भएका थिए । गएको डिसेम्बारमा सबै खाले फुटबलबाट सन्यास लिएका उनले टेलिभिजन सोमार्फत कठिन समयको अनुभव साटेका छन् ।

‘प्रि सिजनबाटै मैले अप्ठेरो महसुस गरेको थिए । केहि लक्षण देखिएका थिए । तर मैले प्रशिक्षणका कारण त्यस्तो भएको हुन सक्ने सोचें ,’ अगुएरोले भने,‘ त्यसछि म घाइते भएँ र झण्डै महिना दिन मैदान बाहिर रहें । त्यसपछि पनि मैले अप्ठेरो अनुभव भने गरिरहेको थिएँ ।

चोटमुक्त भएर फर्केपछि पनि प्रशिक्षणमा अप्ठेरो महसुस हुने क्रम निरन्तर रहने गरेको पनि उनले बताएका छन् । ‘पछि टोलीसँगै मैले अभ्यास सुरु गरे । त्यति बेला सास फर्न अप्ठेरो भयो । त्यसपछि मलाई असजिलो भएको डाक्टरलाई भने । त्यसपछि चक्कर लागे जस्तो भयो अनि पछि लक्षण देखा पर्यो,’ उनले थपे,‘ अक्टोबरमा डाक्टरले परिक्षण गर्दा सबै ठिक छ भने । तर अर्को साता अलाभेससँगको खेलका दौरान मलाई गाह्रो भयो ।’

खेलका दौरान भएको कठिनाईका बारेमा पनि अगुएरोले बताएका छन् । रेफ्रीलाई खेल रोक्नका लागि भन्न पनि आफूले संघर्ष गर्नुपरेको उनले स्मरण गरेका छन् । ‘मलाई असजिलो भएपछि रेफ्रीलाई खेल रोक भन्न चाहन्थें । तर मेरो मुखबाट एक शब्द निस्केन । त्यसपछि मलाई चक्कर लाग्यो । मैले रक्षकको हात समाते र उनलाई रेफ्रीलाई खेल रोक्न भन्न लगाएँ,’ पुरानो दिन सम्झँदै उनले भने,‘ त्यसपछि मलाई झन चक्कर लाग्यो र लक्षण देखियो । त्यसपछि खेल रोकियो र मलाई अस्पताल लगियो । जहाँ म तीन दिन रहे ।’

अस्पतालमा डाक्टरले आफूलाई पुनः फुटबलमा फर्कंदा खतरा हुन सक्ने जनाएको अगुएरोले बताएका छन् । ‘ म फेरि खेल्न सक्छु भनेर डाक्टर भने । तर फेरि पनि त्यहि क्रम दोहोरिन सक्ने खतरा रहेको पनि सम्झाए,’ उनले भने,‘ त्यसपछि मैले धेरै सोचें । म मात्र ३३ वर्षको भए । मेरो छोरा छ र मेरो अगाडि मेरो जीवन छ ।’

बार्सिलोनाको अपुरो यात्रा

बार्सिलोनामा सोचे अनुसार प्रदर्शन गर्नुअघि नै फुटबलबाट अलग हुनु परेकोमा भने अगुएरोलाई पछुतो छ । ‘ बार्सिलोनाका लागि सोचे जस्तो गर्न सकिन त्यसमा मलाई दुःख छ । म क्लबलाई सबै थोक गर्न चाहन्थें । तर स्वास्थ्यले साथ दिएन,’ उनले भने,‘ त्यो मेरो लागि नमिठो क्षण रह्यो । तर मैले रियल म्याड्रिडविरुद्धको खेलमा अन्तिम गोल गर्दै खेल जीवनको अन्त्य गरें ।’

प्रकाशित : बुधबार, जेठ ०४, २०७९२१:४७

मधेस प्रदेशमा मतगणनामा सत्तारुढ दलले धाँधली गरेको एमालेको आरोप