एजेन्सी – स्पोर्ट बिल्डका पत्रकार क्रिस्चियन फाल्कले लिभरपुलका स्टार खेलाडी पेरिस सेन्ट जर्मेन(पिएसजी) जान सक्ने सम्भावना रहेको दावी गरेका छन्। फाल्कले आफ्नो ट्वीटर पेज मार्फत लिभरपुलका साडियो माने पिएसजी जान सक्ने सम्भावना रहेको दावी गरेका हुन्।
फाल्कका अनुसार पिएसजीले केहि समय देखि मानेमा चासो राखिरहेको छ। पिएसजी मानेलाई उच्च पारिश्रमिक दिन तयार रहेको छ। पिएसजी उच्च पारिश्रमिक दिन तयार भएसँगै मानेले लिभरपुलमा सम्झौता थप गर्न हिचकिचाइरहेको फाल्क बताउँछन्।
मानेको लिभरपुलमा सम्झौता सन् २०२३ मा सकिँदैछ। सम्झौता सकिन एक सिजन मात्र बाँकी रहेको अवस्थामा लिभरपुलले मानेको सम्झौता थपको प्रयास गरिरहेको छ। तर फाल्कको भनाईलाई मान्ने हो भने मानेले पिएसजीका लागि लिभरपुलसँगको सम्झौता नवीकरण गर्न मानिरहेका छैनन्।
यस महिनाको सुरुमा, लिभरपूल इकोले माने आउने समर ट्रान्सफरमा बायर्न म्युनिख जान सक्ने सम्भावना रहेको दावी गरेको थियो। सो सम्बन्धमा माने पक्ष र बायर्न पक्ष बीच कुराकानी समेत भएको सो मिडियाले जनाएको थियो।
फाल्कले नयाँ खुलासा गरेसँगै माने लिभरपुल छाड्ने अवस्थामा पुगेको खण्डमा उनका लागि धेरै क्लब बीच प्रतिष्पर्धा हुने देखिसकेको छ। आउने केहि साता भित्रै लिभरपुलका अधिकारीहरु र मानेका एजेन्टका बीच निर्णायक छलफल हुने बताइन्छ। सो छलफल पछि माने बिक्रीका लागि उपलब्ध हुने नहुने भन्ने टुंगो लाग्नेछ।