काठमाडौँ – यहि शनिबार हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट स्थगित हुने भएको छ। दशरथ रंगशालामा हुने भनिएको सलमानको कन्सर्ट अन्तिम समयमा आएर स्थगित हुने भएको हो।
कन्सर्टको घोषणा भएको केहि महिना बितिसक्दा पनि उल्लेख्य मात्रामा टिकट बिक्री हुन सकेन। जसकारण कन्सर्टलाई स्थगित गर्ने निर्णयमा पुग्न आयोजक बाध्य भएको बताइन्छ।
‘दबङ रिलोडेड टुर’ ओडीसी इन्टरटेनमेन्टले यहि शनिबार आयोजना हुने तय भएको थियो। कार्यक्रममा सलमान खानका अलावा अन्य भारतीय कलाकार सहित दर्जन कलाकारले प्रस्तुति दिने ओडीसी इन्टरटेनमेन्टले जनाएको थियो।
शनिबार हुने भनिएको कार्यक्रमका लागि आयोजकले झण्डै ८ करोड रुपैयाँ खर्च गरिसकेको बताइएको छ। प्रकाशमा आएअनुसार सलमान खान एक्लैलाई ४ करोड पारिश्रमिक दिसकिएको छ।
चुनावको कारण टिकट सोचेअनुसार बिक्री नभएपछि कार्यक्रम स्थगित गर्न परेको ओडीसी इन्टरटेनमेन्टले जनाएको छ। अनुकूल समयमा कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टको तयारी छ।
यस अगाडी पनि सलमान खानको कार्यक्रम रोकिएको थियो। केहि वर्ष अगाडी टिकट बिक्री भइसकेपछि सलमान खानको कार्यक्रम स्थगित भएको थियो।

