एजेन्सी – गएको दुई सिजन देखि फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे स्पेनिस महारथी रियल म्याड्रिडको मुख्य टार्गेट थिए। एम्बाप्पेलाई भित्र्याउन रियलले कयौं प्रयास गरेको थियो। सन् २०२१-२२ को सिजन शुरु हुनु भन्दा अगाडी रियलले एम्बाप्पेलाई भित्र्याउन २ सय मिलियन युरो बराबरको प्रस्ताव समेत गरेको थियो।
तर पेरिस सेन्ट जर्मेन(पिएसजी)ले रियलको सो प्रस्ताव ठाडै अस्विकार गरिदियो। त्यसपछि पनि रियलले एम्बाप्पे भित्र्याउन सक्दो प्रयास गरि नै रह्यो। एम्बाप्पे फ्री एजेन्टको रुपमा रहन सक्ने देखेपछि रियलले जनवरी यता पनि प्रयास जारी राख्यो। यता सिजनको अन्त्यमा एम्बाप्पे र पिएसजी बीचको सम्झौता सकिँदै थियो।
पिएसजीले सम्झौता थपका लागि एम्बाप्पेलाई दबाव दिँदै गयो र अन्त्यमा सफल पनि भयो, अन्ततः एम्बाप्पेले पिएसजीमै रहने निर्णय गरे। एम्बाप्पे फ्री ट्रान्सफरमा भित्र्याउनेमा ढुक्क रहेको रियललाई ठूलो धक्का दियो। एम्बाप्पे पिएसजीमै रहने भएपछि रियल यति बेला नयाँ खेलाडीको रुपमा कसलाई ल्याउन सकिन्छ भनेर अध्ययन गर्न व्यस्त भएको छ।
विभिन्न स्पेनिस मिडियाहरुका अनुसार रियल औरेलियन चौआमेनी तर्फ केन्द्रित भएको छ। एएस मोनाकोका युवा मिडफिल्डर चौआमेनीलाई छिट्टै भित्र्याउने गरी रियल अगाडी बढिसकेको स्पेनिस मिडियाहरु बताउँछन्।
चौआमेनीलाई भित्र्याउने दौडमा रियल एक्लै भने छैन। विश्वसनीय पत्रकार फाब्रिजियो रोमानोका अनुसार लिभरपुल पनि चौआमेनीलाई भित्र्याउन चाहन्छ। यधपी गएको केहि दिन देखि चौआमेनी लिभरपुल भन्दा पनि रियल म्याड्रिड जान इच्छुक रहेको रिपोर्टहरु आइरहेका छन्।