एजेन्सी – बेल्जियन फरवार्ड इडेन हाजार्ड रियल म्याड्रिडमै रहने भएका छन्। रियल म्याड्रिडमा खासै समय नपाइरहेपनि हाजार्ड रियलमै रहने भएका हुन्। हालसालै एक अन्तर्वार्ताका क्रममा हाजार्डले रियल म्याड्रिड छाडेर अन्यत्र जाने पक्षमा आफू नरहेको बताए।
डायरियो एएसका अनुसार एक अन्तर्वार्ताका क्रममा उनले आफू रियलमै बस्ने पक्षमा रहेको स्पष्ट पारे। रियल आएयता खासै राम्रो प्रदर्शन गर्न नसकेपनि नयाँ सिजनमा राम्रो प्रदर्शन गर्ने उनको प्रण छ।
हाजार्ड सन् २०१९ मा चेल्सीबाट रियल आएका हुन्। चेल्सीमा हुँदा हाजार्ड विश्वकै उत्कृष्ट खेलाडीमा पर्थे। तर रियल आएयता उनलाई शरीरले त्यति साथ दिरहेको छैन। रियल आएयता उनी कयौं पटक घाइते भइसकेका छन्।
घाइते नहुँदा पनि उनले रियलमा नियमित खेल्ने मौका पाउन सकेनन्। तर आउने सिजन उत्कृष्ट प्रदर्शन गरेर सबैलाई देखाइदिने हाजार्डको भनाई छ। अन्तर्वार्ताका क्रममा उनले भने,”सबैलाई थाहा छ की मेरो सम्झौता सन् २०२४ सम्मको लागि छ। मेरो पहिलो तीन सिजन राम्रो गएन। त्यसैले म के गर्न सक्छु भनेर सबैलाई देखाउन चाहन्छु। रियल मड्रिडबाट खेल्ने सपना सधैं थियो र अझै पनि छ।”