एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व स्टार ग्यारी नेभिलले लिभरपुलले च्याम्पियन्स लिग नजित्ने दावी गरेका छन्। गएको केहि समय देखि फुटबल विश्लेषकको रुपमा रहेका नेभिलले च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल रियल म्याड्रिडसँग पराजित हुने बताएका हुन्।
एक टेलिभिजन कार्यक्रममा बोल्दै नेभिलले पेरिसमा लिभरपुललाई रियलले हराउने बताए। रियल म्याड्रिडको मिडफिल्ड लिभरपुल भन्दा धेरै राम्रो रहेको र त्यसैकारणले गर्दा रियल विजयी हुने नेभिलको भनाई छ।
“मलाई लाग्दैन कि लिभरपुलले युरोपियन कप जित्छ। मैले पेरिस (फाइनल) को बारेमा धेरै सोचेको छु, र मैले रियल म्याड्रिडको बारेमा सोचेको छु। उनीहरूले खेलहरू कसरी जितेका छन्, किन जितेका छन् ? कसरी उनीहरुले पुनरागमन गरिरहेका छन् ? यी सबैको जवाफ मिडफिल्ड हो जस्तो लाग्छ।”,नेभिलले बताए।
नेभिलले रियलको मिडफिल्ड धेरै नै राम्रो रहेको मात्र बताएनन्, रियलसँग मिडफिल्डमा शुरु देखि अन्तिम सम्मका लागि विकल्प रहेको समेत बताए। क्यासेमिरो, टोनी क्रुस, लुका मोड्रिच जस्ता दिग्गज मिडफिल्डर सँग-सँगै फेडेरिको भाल्भर्डे, एडुआर्डो कामाभिङ्गा जस्ता युवा विकल्पका कारण रियल बलियो भएको नेभिलको भनाई छ।
उनले भने,”म रियल म्याड्रिडको मिडफिल्ड क्यासेमिरो, (टोनी) क्रुस, (लुका) मोड्रिचलाई हेर्छु, जो धेरै राम्रा छन्। यी तीन रियलमा लामो समय देखि छन्। साथै रियलसँग (फेडेरिको) भाल्भर्डे र (एडुआर्डो) कामाभिङ्गा पनि छन्।”