एजेन्सी – रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्ने बार्सिलोनाको सपना तत्कालका लागि रोकिएको छ। आर्थिक अभावका कारण रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्ने योजनालाई बार्सिलोनाले केहि समयका लागि रोकेको हो।
जर्मन तथा स्पेनिस मिडियाहरुका अनुसार जर्मन क्लब बायर्न म्युनिखले लेवान्डोस्कीका लागि बार्सिलोनाले अपेक्षा गरे भन्दा बढी रकम माग गरेको छ। जसकारण बार्सिलोना ब्याक हुने अवस्थामा पुगेको छ।
लेवान्डोस्कीलाई लिएर बार्सिलोना र बायर्न बीच कुरा नमिलिरहेको अवस्थामा नयाँ ट्वीस्ट आएको छ। प्रिमियर लिग क्लब लिभरपुलका साडियो माने बायर्न जान इच्छुक देखिएसँगै नयाँ ट्वीस्ट आएको हो।
खबरका अनुसार मानेको विषयमा लिभरपुल र बायर्न बीच कुरा मिलेको खण्डमा बायर्नले लेवान्डोस्कीको विषयमा केहि लचिलो हुन सक्छ। लेवान्डोस्की अझै पनि युरोपको उत्कृष्ट खेलाडीमा पर्छन्। उनको कमि पूरा गर्ने खेलाडी नभेटेको खण्डमा बायर्न ट्रान्सफर मूल्य घटाउने पक्षमा देखिँदैन। तर माने आउने पक्का भएको खण्डमा भने बायर्नले प्रस्ताव गरिरहेकै मूल्यमा लेवान्डोस्कीलाई बिक्री गर्न सक्नेछ।
मानेले लिभरपुललाई क्लब छाड्न चाहेको बारे जानकारी गराइसकेका छन्। मानेका एजेन्ट र बायर्नका अधिकारीहरु बीच कुराकानी समेत भइसकेको बताइन्छ। आउने केहि दिनमै माने र बायर्न बीच सम्झौता हुन सक्ने खबर आइरहेका छन्।
क्लबमा मानेको स्थान लिन सक्ने खेलाडीहरु रहेका कारण लिभरपुलले मानेलाई बिक्री गर्न सक्ने उच्च सम्भावना छ। लिभरपुल र बायर्नका बीच ट्रान्सफरको विषयमा रहेको राम्रो सम्बन्धका कारण पनि मानेको ट्रान्सफर सहज रुपमा हुन सक्छ।