बार्सिलोनालाई झड्का, डेम्बेले भित्र्याउने दौडमा लिभरपुलको इन्ट्री !

एजेन्सी – फ्रेन्च विंगर उस्मान डेम्बेलेले बार्सिलोना छाड्ने लगभग निश्चित भएको छ। बार्सिलोनाको तर्फबाट भएको पछिल्लो प्रस्ताव डेम्बेलेले अस्विकार गरेसँगै उनले बार्सिलोना छाड्ने सम्भावना उच्च भएको हो।

विभिन्न स्पेनिस मिडियाहरुका अनुसार सम्झौता सकिने दिन आउँदै गर्दा बार्सिलोनाले डेम्बेलेलाई नयाँ प्रस्ताव गरेको थियो। तर बार्सिलोनाको तर्फबाट भएको प्रस्तावमा डेम्बेले सहमत हुन सकेनन्।

डेम्बेले बार्सिलोनामा नरहने सम्भावना बढिरहेकै बेला प्रिमियर लिग क्लब लिभरपुलले डेम्बेलेलाई सम्पर्क गरेको छ। फ्री ट्रान्सफरमा उपलब्ध हुने डेम्बेलेलाई भित्र्याउन धेरै क्लबहरु बीच प्रतिष्पर्धा चलिरहेका बेला त्यसमा लिभरपुल पनि जोडिन पुगेको हो।

लिभरपुलले डेम्बेलेका एजेन्टहरुलाई समपर्क गरेको बेलायती मिडियाहरु बताउँछन्। लिभरपुलले डेम्बेलेका एजेन्टलाई आकर्षक सम्झौता प्रस्ताव गरेको बताइन्छ। त्यसक्रममा लिभरपुलले क्लबको योजनामा डेम्बेलेको कस्तो भूमिका हुन्छ भन्ने बारे समेत स्पष्ट पार्ने प्रयास गरेको थियो।

डेम्बेलेलाई भित्र्याउने दौडमा यस अगाडी देखि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) र प्रिमियर लिग क्लब चेल्सी छ। डेम्बेले भित्र्याउने दौडमा लिभरपुलको समेत इन्ट्री भएपछि अब चार क्लब बीच प्रतिष्पर्धा हुने भएको छ।डेम्बेलेका लागि अब बार्सिलोनाले लिभरपुल, पिएसजी र चेल्सी भन्दा राम्रो सम्झौता प्रस्ताव गर्नुपर्नेछ।

प्रकाशित : आइतबार, जेठ १५, २०७९२१:३९

लिभरपुल छाड्ने मानेको निर्णय !