“शव चिनिने अवस्थामा छैनन्, कसैको केही छैन, कसैको टाउको नै छैन”

पोखरा, आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ ।

उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले न्युज कारखानासँग भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’

उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।

सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ ।

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका यार्सागुम्बा खोज्न गएका सुमित गौचनले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएको राससलाई जानकारी दिए। सरकारले यसका बारेमा औपचारिक पुष्टि भने गरेको छैन ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोली त्यसतर्फ लागेको गाउँपालिकाका अध्यक्ष गौचनले बताए।

कोवाङदेखि दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेर राति त्यहाँ बसेका करिब १०० नेपाली सेना सहितको सुरक्षाकर्मीको टोली आज बिहानै मानापाथी हिमाल आसपासको क्षेत्रतर्फ प्रस्थान गरेका जनाइएको छ ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका जनाइएको छ ।

प्रकाशित : सोमबार, जेठ १६, २०७९०८:३७

‘शव संकलन गर्दै छौँ, सबै शवहरु चिनिने अवस्थामा छन्’