काठमाडौं । आइतबार बिहानैदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।
विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।
१४ जनाको शव फेला, पहिचान हुन बाँकी
नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ ।
प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् ।
प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ । विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो ।

