एजेन्सी – अन्सु फाती आफ्नो वर्तमान र भविष्य बार्सिलोनामा रहेकोमा स्पष्ट छन्। जीवनभर बार्सिलोनामै रहने र बार्सिलोनाकै लागि खेल्ने फातीको चाहना छ। एक अन्तर्वार्ताका क्रममा फातीले अन्य क्लबहरुको नजरमा आफू रहेपनि जीवनभर बार्सिलोनामै रहने पक्षमा आफू रहेको बताए।
क्यानल प्लससँग कुराकानी गर्नेक्रममा फातीले सम्झौता र अन्य क्लबहरुको चासो बारे आफूलाई थाहा नहुने बताए। त्यस विषयमा आफ्ना एजेन्ट र परिवारले नै निर्णय गर्ने फातीको भनाई छ। अन्तर्वार्ताका क्रममा उनले आफ्नो परिवारलाई जीवनभर बार्सिलोनाबाट खेल्न चाहेको बारे जानकारी गराइसकेको समेत बताए।
“के पिएसजी मलाई अनुबन्ध गर्न इच्छुक छ? मलाई साँच्चै थाहा थिएन। यी कुराहरुलाई थाहा हुँदैन। यी विषय मेरो एजेन्ट र मेरा आमाबाबुलै थाहा हुन्छ। सुरुदेखि मैले मेरो एजेन्ट र मेरो बुबालाई मेरो उद्देश्य भनेको छु। म बार्सिलोनामै रहन चाहन्छु। मेरो दिमागमा यो स्पष्ट कि म जीवनभर बार्सिलोनाबाट खेल्न चाहन्छु।”,फातीले भने।
लियोनेल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाले फातीलाई मुख्य खेलाडीको रुपमा लिएको छ। क्लबले उनलाई १० नम्बरको जर्सी दिएको छ। तर उनका लागि पछिल्लो दुई वर्ष त्यति राम्रो गइरहेको छैन। गएको दुई वर्षमा उनी कयौं पटक घाइते भइसके। सन् २०२१-२२ को सिजनमा फातीले बार्सिलोनाका लागि १४ खेल मात्र खेल्न सके। जसमा उनले ६ गोल गर्दै एक असिस्ट दिन सके।