एजेन्सी – आर्सनलका पूर्व स्ट्राइकर थियरी हेनरीले लिभरपुलका विङ्गर मोहम्मद सलाहको खेलमा परिवर्तन आएको औंल्याएका छन्। एक टेलिभिजन कार्यक्रमका क्रममा हेनरीले सन् २०२१-२२ को सिजनमा सलाहले आफ्नो खेल शैलीमा धेरै परिवर्तन गरेको बताएका हुन्।
पहिला गोल गर्न मात्रै खोज्ने सलाह अहिले असिस्ट दिने तर्फपनि ध्यान दिन थालेको हेनरीले बताए। सलाहले पहिला भन्दा धेरै बल अन्य खेलाडीलाई पास दिन थालेको र त्यो सकारात्मक रहेको हेनरीको भनाई छ।
“पछिल्लो समय सलाहको खेलमा धेरै परिवर्तन आएको छ। उनी अहिले पहिला भन्दा धेरै पास गरिरहेका छन्, विशेष गरी मानेलाई। पहिला उनी जहिल्यै बललाई एक्लै अगाडी बढाउने प्रयास गर्थे। एक्लै दौडिएर गोल गर्न खोज्ने उनको प्रयास हुन्थ्यो। तर अहिले उनी फेरिएका छन्। उनी अहिले भने प्रयास बल पास गर्न खोजिरहेका हुन्छन्।”,हेनरीले भने।
पछिल्ला सिजनहरुमा सलाह माथि स्वार्थी भएको आरोप लाग्ने गरेको थियो। टोलीकै खेलाडीहरुलाई बल पास गर्ने भन्दा पनि आफैं गोल गर्ने तर्फ उनको प्रयास रहन्थ्यो। तर सन् २०२१-२२ को सिजनमा भने सलाहले गोल मात्र गरेनन्, उच्च संख्यामा असिस्ट पनि दिए। सलाहले कुल ५१ खेल खेल्दा ३१ गोल गरे भने १६ असिस्ट दिए। सलाहले प्रिमियर लिगमा मात्रै १४ असिस्ट दिए।