एजेन्सी – लिभरपुल र मोहम्मद सलाह बीच सम्झौता थपको विषयमा सहमति हुन सकिरहेको छैन। झन्डै एक वर्ष देखि सलाह र लिभरपुल बीच सम्झौता थपका विषयमा छलफल भइरहेका छन्। तर दुवै पक्ष सम्झौता थपका लागि सहमत हुन सकिरहेका छैनन्।
सलाहको सम्झौता सन् २०२२-२३ को सिजन सम्मका लागि मात्रै छ। सन् २०२३ को जुन पश्चात सलाह फ्री ट्रान्सफरमा अन्यत्र जान पाउनेछन्। पछिल्ला पाँच वर्ष देखि निरन्तर लिभरपुलको मुख्य खेलाडीको रुपमा रहेका उनलाई लिभरपुल सहजै गुमाउन चाहँदैन।
सलाह पनि लिभरपुलमै रहन चाहन्छन्। सलाहले कयौं पटक सार्वजनिक रुपमै आफू लिभरपुलमै रहन चाहको बताइसकेका छन्। तर उनी लिभरपुलमा अहिले पाउँदै आएको खण्ड राम्रो पारिश्रमिक चाहन्छन्। सलाहले माग रहेको पारिश्रमिक दिन लिभरपुल भने तयार छैन।
लिभरपुल छाड्नै परे प्रिमियर लिग भने नछाड्ने सलाहको योजना छ। सलाह लिभरपुल छाड्ने परेको खण्डमा प्रिमियर लिगकै एक क्लबमा जान सक्ने सम्भावना रहेको ‘द एथलेटिक’ले जनाएको छ।
न्यू क्यासल जान सक्ने चर्चा
गएको केहि समय देखि चलिरहेको चर्चालाई मान्ने हो भने लिभरपुल छाडेपछि सलाह न्यू क्यासल जान सक्छन्। न्यू क्यासल साउदी अरेबियाको लगानी कोषले किनेका कारण सलाह त्यहाँ जान सक्ने सम्भावना बारे चर्चा हुन थालेको हो।
त्यस्तै सन् २०१२ मा पनि सलाह न्यू क्यासल जाने संघारमा थिए। तर त्यसबेला उनी न्यू क्यासल नगएर बसेल पुगेका थिए। त्यहाँबाट उनी चेल्सी पुगेका थिए भने चेल्सीबाट रोम। लिभरपुलले सलाहलाई रोमबाट किनेर ल्याएको थियो।