काठमाडौँ – नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह नछुट्ने भएका छन्। उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिन अस्विकार गरेसँगै नायक शाह थुनामै रहने भएका हुन्।
बिहिबार उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँ र नवलपरासीको यसअघिको आदेशलाई नै सदर गर्दै थुनामै पठाउने आदेश दियो। नाबालिग गायिकालाई बलात्कार गरको आरोपमा पुर्पक्षमा थुनामा रहेका शाहले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए।
उच्चका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई थुनामै राख्ने जिल्लाको आदेश सदर गर्यो। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) बमोजिम जिल्ला अदालतको आदेशलाई सदर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी उपरजिस्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
बिहिबार दुवै पक्षका कानुन व्यावसायीले बहस गरेका थिए। शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए ।
१० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेकाे थियाे । १५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरिसकेकाे छ ।

