गठबन्धन छाड्ने तयारीमा नेकपा एकीकृत समाजवादी !

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन भित्रैबाट आफुहरुलाई धोका भएको निश्कर्ष निकालेको छ । राजधानीमा शनिबार आयोजित एकीकृत समाजवादीको सचिवालय बैठकले यस्तो निश्कर्ष निकालेको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दलहरु इमान्दार नभएको ठहर गरेको छ । स्थानीय तह चुनावमा सत्ता गठबन्धनमा आबद्ध अन्य दलहरु इमान्दार भइदिएको भए आफ्नो पार्टीले अन्य थुप्रै स्थानमा जित हासिल गर्ने बैठकको ठम्याई छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए ।कांग्रेस ३ सय २९ पालिकाको प्रमुख र ३ सय पालिकाको उपप्रमुख जित्दै पहिलो दल बनेको थियो । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १ सय २१ पालिकाको प्रमुख र १ सय २८ पालिकाको उपप्रमुख जितेको थियो । जनता समाजवादीले ३० पालिकाको प्रमुख र ३१ पालिकाको उपप्रमुख तथा एकीकृत समाजवादीले २० पालिकाको प्रमुख र २३ पालिकाको उपप्रमुख जितेका थिए । राष्ट्रिय जनमोर्चाले पनि ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पद जितेको थियो ।

एकीकृत समाजवादीको सचिवालय बैठकले चुनावमा धोका भएको विषयलाई पाँच दलीय गठबन्धनको बैठकमा गम्भीर रुपमा उठाउने निर्णय पनि गरेको छ । बैठकका अधिकांश सहभागीले निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई गठबन्धनमा आबद्ध अन्य दलले मत नदिएको धारणा राखे ।

बैठकपछि पार्टीका शीर्ष नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध अन्य दलको गतिलो सहयोग नपाएको र यसले आगामी दिनमा गठबन्धनलाई अगाडि बढाउन गम्भीर समीक्षा गर्नुपर्ने निश्कर्ष निकालेको जानकारी दिए । उनले वाम एकताको विषयमा भने शीर्ष नेताहरू सहमत नहुँदा समस्या भएको बताए ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले निर्वाचनमा कुन स्थानमा कसरी धोका भयो भनेर विस्तृत समीक्षाका लागि सूचना संकलन गर्न नेताहरुलाई प्रदेशगत जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ । समग्र समीक्षाका लागि ५ दिनभित्र सूचना संकलन गर्न बैठकले सचिवालयका ७ जना नेतालाई प्रदेशगत जिम्मेवारी दिएको हो ।

प्रकाशित : आइतबार, जेठ २२, २०७९०८:४४

अझै उठेन उपत्यकाको फोहोर