नेकपा एसमा लफडा, केहि मन्त्रीले राजीनामा दिन मानेनन् !

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

एमालेबाट विभाजन भएलगत्तै सरकारमा सहभागी भएको नेकपा एसले ६ महिनापछि मन्त्री बदल्ने भनेको थियो। नेकपा एसले सुरुमा ६ महिनाका लागि भनेर पार्टीका नेतालाई सरकारमा पठाएको थियो। सोहीबमोजिम पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भएको हो।

नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका छन्। उनीहरूले आफूहरूले राम्रो काम गरेको दाबी गर्दै तत्कालै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको बताएका छन्। पार्टी सचिवालय बैठकले सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पठाएको छ।

पार्टीले नयाँ मन्त्रीको नाम पठाउन लागेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत गराइसकेको स्रोतले बतायो। कार्य सम्पादनभन्दा पार्टीभित्र भाग पुर्‍याउन मन्त्री परिवर्तन गर्ने परिपाटी सुरु गरेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ।

कार्यक्षमता, दक्षता र जनहितमा काम गर्नेभन्दा पनि पार्टीका नेतालाई खुसी बनाउने परम्पराले मुलुकको आर्थिक विकास र सुशासन थप कमजोर बन्ने देखिएको छ।

नेकपा एसका एक नेताले दिएको जानकारी अनुसार अहिले राज्यमन्त्री रहेका भवानी खापुङबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भएको छ। राज्यमन्त्री खापुङ स्वास्थ्यमन्त्रीमा बढुवा हुनेछन्।

ती नेताका अनुसार पार्टीले संस्कृतिमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्रीमा मेटमणि चौधरी र श्रममन्त्रीमा शेरबहादुर कुँवरलाई पठाउने निर्णय गरेको छ।

हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाइने भएको छ। अहिले नेकपा एसबाट सरकारमा विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री, रामकुमारी झाँक्री सहरी विकासमन्त्री, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री छन्।

कानुनमन्त्री गोविन्द शर्मा पनि नेकपा एसनिकट हुन्। नेकपा एसको आइतबार बसेको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो। पार्टी अध्यक्ष माधवकुमार नेपालले यो निर्णयलाई अन्यथा नलिईकन अन्य साथीलाई पनि सरकारमा पालो दिनुपर्ने बताएका थिए।

मन्त्री खतिवडाले भने अहिले नै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको र मन्त्री पद आलोपालो प्रणालीमा चल्ने विषय नभएको बताएका थिए। तर अध्यक्ष नेपालले उनको कुरा सुनेनन्।

उनले पार्टीले सरकारमा नयाँ मन्त्रीका रूपमा पठाउन लागेका नेताहरूलाई इज्जत राखेर काम गर्न निर्देशन दिएका थिए। पार्टी अध्यक्ष नेपालले सञ्चारकर्मीसँग मन्त्रीहरू हेरफेर नियमित प्रक्रिया भएको बताए।

प्रकाशित : सोमबार, जेठ २३, २०७९०७:२३

“राजसंस्थाले जनताको पक्षमा केही गर्न सकेन, पुनःस्थापना हुँदैन”