बल चौआमेनीको कोर्टमा: रियल जान अब बोल्ड कदम चाल्नुपर्ने !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेबाट धोका पाएको रियल म्याड्रिड यति बेला अर्का फ्रेन्च युवा स्टारको निर्णय कुरिरहेको छ। हाल एएस मोनाकोमा रहेका युवा मिडफिल्डर औरेलियन चौआमेनीको निर्णय रियलले कुरेको हो।

रियलले आफ्नो तर्फबाट चौआमेनीलाई स्पष्ट पारिसकेको छ। स्पेनिस मिडियाहरुका अनुसार रियलका अधिकारीहरुले चौआमेनी र उनका एजेन्टसँग भेटघाट गरिसकेको छ। रियलले आफ्नो चासो तथा योजना बारे चौआमेनी पक्षलाई स्पष्ट पारिसकेको स्पेनिस मिडियाहरु बताउँछन्।

रियलको तर्फबाट स्पष्ट भएसँगै अब बल चौआमेनीको कोर्टमा छ। हुन त चौआमेनी रियल जान मौखिक रुपमा सहमत भैसकेको खबर समेत आएका छन्। तर उनले सार्वजनिक रुपमा केहि पनि बोलेका छैनन्।

चौआमेनीले अब मोनाकोसँग रियल जाने बारे कुराकानी अगाडी बढाउनुपर्ने अवस्था रहेको बताइन्छ। उनले मोनाकोलाई क्लब छाड्न चाहेको बारे जानकारी बढाएपछि प्रक्रिया अगाडी बढ्नेछ।

पिएसजीको तगारो

चौआमेनी भित्र्याउने रियलको योजनामा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) तगारो बनिरहेको छ। पिएसजी पनि चौआमेनीलाई भित्र्याउन चाहन्छ। पिएसजी चौआमेनीका लागि रियल भन्दा बढी रकम खर्च गर्न तयार देखिन्छ।

उता रियल चौआमेनीका लागि ८० मिलियन युरो भन्दा बढी खर्च गर्ने पक्षमा छैन। सो रकममा पाए मात्र उनलाई भित्र्याउने रियलको योजना छ। खबरमा आएअनुसार पिएसजी भने १ सय मिलियन सम्म खर्च गर्न तयार छ। रियलको प्रस्तावमा मोनाकोले खासै प्रतिक्रिया दिएको छैन। यस्तोमा अब चौआमेनी आफैंले क्लबलाई दबाव दिनुपर्नेछ।

प्रकाशित : मङ्गलबार, जेठ २४, २०७९१३:११

“च्याम्पियन्स लिगको हाम्रो यात्राले सबै फुटबल समर्थक रियलको मायामा पारेको छ”