एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले अर्जेन्टिनी स्टार एन्जेल डि मारियालाई सम्पर्क गरेका छन्। फ्री ट्रान्सफरमा उपलब्ध हुन लागेका डि मारियालाई जाभीले सम्पर्क गरेका हुन्।
पेरिस सेन्ट जर्मेन(पिएसजी)मा यहि जुनको अन्त्य सम्मका लागि मात्रै डि मारियाको सम्झौता छ। सम्झौता सकिन केहि साता मात्रै बाँकी रहेको अवस्थामा पिएसजीमा उनको सम्झौता थप नहुने पक्का भइसकेको छ।
डि मारिया फ्री ट्रान्सफरमा उपलब्ध हुने भएसँगै विभिन्न क्लबहरुको ध्यान उनी तर्फ केन्द्रित भएको छ। आर्थिक समस्यासँग जुधिरहेको बार्सिलोना पनि डि मारियालाई भित्र्याउन चाहन्छ। फ्री ट्रान्सफरमा उपलब्ध हुने हुँदा बार्सिलोना डि मारियामा इच्छुक देखिएको हो।
ट्रान्सफर मार्केटका विश्वसनीय जानकार फाब्रिजियो रोमानोका अनुसार प्रशिक्षक जाभीले व्यक्तिगत रुपमै डि मारियालाई सम्पर्क गरिसकेका छन्। जाभीले डि मारियालाई फोन सम्पर्क गरेको रोमानोको भनाई छ।
डि मारिया एक वर्षको सम्झौता खोजिरहेको बताइन्छ। बार्सिलोना र डि मारिया बीच छिट्टै नै छलफल हुने खबर पनि बाहिर आएका छन्। डि मारियाले भविष्य बारे आफ्नो निर्णय छिट्टै सुनाउने तयारी गरिरहेका छन्।
बार्सिलोना डि मारियालाई भित्र्याउन चाहने एक क्लब भने होइन। इटालियन क्लब युभेन्टसले पनि उनलाई भित्र्याउन चाहको छ। युभेन्टसले समेत उनलाई सम्पर्क गरिसकेको बताइन्छ।