बर्नार्डो सिल्भा भित्र्याउने बार्सिलोनाको चाहना, तर यी खेलाडी बिक्री गर्नै पर्ने !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना लालिगाको नयाँ सिजन शुरु हुनु भन्दा अगाडी आफ्नो स्क्वाडलाई थप बलियो बनाउन चाहन्छ। सन् २०२१-२२ को सिजनमा च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिरिएको बार्सिलोना नयाँ सिजनमा भने त्यस्तो हविगत नहोस् भन्नेमा सचेत छ।

त्यसको लागि बार्सिलोनाले क्लबमा विभिन्न खेलाडीहरु भित्र्याउने तयारी गरिरहेको छ। बार्सिलोनाको प्राथमिकतामा यति बेला म्यानचेस्टर सिटीका बर्नार्डो सिल्भा छन्। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार बार्सिलोनाले सिल्भालाई के कसरी भित्र्याउन सकिन्छ भन्ने विकल्पहरु बारे अध्ययन गरिरहेको छ।

सिल्भा भित्र्याउन बार्सिलोना आतुर देखिएपनि सिल्भा भित्र्याउने कुरा बार्सिलोनाका लागि सपना जस्तै देखिन्छ। चरम आर्थिक संकटमा रहेका कारण बार्सिलोनाले सिल्भालाई भित्र्याउन धेरै कठिन छ। सिटीले सिल्भालाई १ सय मिलियन युरो भन्दा कम मूल्यमा बिक्री गर्ने सम्भावना कमै देखिन्छ।

हालको अवस्थामा बार्सिलोनाले १ सय मिलियन युरो खर्च गर्न सक्ने अवस्था नै छैन। यस्तोमा बार्सिलोनाले क्लबमा रहेका केहि खेलाडीहरुलाई बिक्री गर्नुपर्ने हुन्छ। डच मिडफिल्डर फ्रान्की डि जोङलाई बिक्री गर्न सके मात्रै सिल्भालाई बार्सिलोनाले किन्न सक्ने स्पेनिस मिडियाहरु बताउँछन्।

जोङलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले किन्न खोजिरहेको छ। युनाइटेडमा नयाँ प्रशिक्षक एरिक टेन ह्याग जसरी पनि डि जोङलाई भित्र्याउने पक्षमा छन्। यदि युनाइटेडले डि जोङलाई किनेको खण्डमा सिल्भा भित्र्याउने बार्सिलोनाको योजना सफल हुने सम्भावना बढ्नेछ।

प्रकाशित : शुक्रबार, जेठ २७, २०७९११:४२

माधव नेपाल र प्रचण्डको भयो पर्दाफास, ओलीले खोलिदिए पोल !