चाक्सीबारीविरुद्ध रामचन्द्रले खोले फायर, भुसको आगो जस्तै भित्रभित्रै फैलियो !

काठमाडौँ – दलहरू आमनिर्वाचनको तयारीमा जुटेका छन् । तर, स्थानीय निर्वाचनको तरंग अझै सेलाएको छैन । स्थानीय निर्वाचनमा भएको घात अन्तरघात प्रकरण नेपाली कांग्रेसभित्र निकै पेचिलो हुँदै गएको छ । भुसको आगो जस्तै भित्रभित्रै फैलिएको कांग्रेसभित्रको कलहलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सतहमा ल्याएका छन् ।

वरिष्ठ नेता पौडेलले काठमाडौं महानगरपालिकामा भएको कांग्रेसको पराजय वंशवादको परिणाम भएको प्रतिक्रिया दिएपछि कांग्रेसभित्र खैलाबैला मच्चिएको छ ।

वरिष्ठ नेता पौडेलको भनाइ छ, ‘मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन् । पुरुष दिने हो भने तीर्थ डंगोल छँदै छन् । उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो, जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा ।’

वरिष्ठ नेता पौडेलको यो प्रतिक्रिया मिडियामा आएपछि नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले पनि जवाफ दिएकी छन् । काठमाडौं महानगरपालिकामा मेयर पदमा चुनाव लडेर पराजित भएकी नेतृ सिंहले वरिष्ठ नेता पौडेललाई जवाफ दिँदै भनेकी छिन्, ‘मेरो राजनितीक यात्रा प्रकाशमानले भन्दा तपाईंले पहिला चिन्नुभएको हो, थाहा पाउनुभएको हो, हामी छिमेकी जिल्लावासी पनि हौँ, मेरो बिहेअघि तपार्इं गोरखामा जेल पर्नु हुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनुभएको हो दाइ ? यो कुरा तपाईंको मुखबाट आउदाभन्दा अली सुहाएन कि दाइ ।’

वरिष्ठ नेता पौडेल र नेतृ सिर्जना सिंहको यो सवालजवाफ झट्ट हेर्दा र सुन्दा सामान्य देखिन्छ, तर यो प्रकरणको मर्म निकै पेचिलो छ । कांग्रेसका वरिष्ठ नेता पौडेलले नेतृ सिंहको राजनीतिक पृष्ठभूमि थाहा नपाएका हुन् कि ? बुझ पचाएका हुन् ? उमेर ढल्कँदै गएका कारण कांग्रेस नेता पौडेललाई पुराना कुरा बिर्सने रोग लागेको त होइन ? कि गत १४औँ महाधिवेशनमा प्रकाशमान सिंहले गरेको असहयोगको बदला लिन वरिष्ठ नेता पौडेलले मुखको तीतो पोखेका हुन् ? नेपाली कांग्रेस वृत्तमा यतिबेला विविधि प्रश्नहरू उठेका छन् ।

किन आरोप लगाए पौडेलले ?

कांग्रेस वरिष्ठ नेता पौडेलले सिर्जना सिंहको उम्मेदवारीलाई वंशवादको आरोप एक्कासि लगाएका होइनन् । मतगणनामा बालेन्द्र शाहले अग्रता लिनासाथ जो मान्छे भेट हुँदा पनि नेता पौडेलले भन्न थालेका थिए, ‘देख्यौ त वंशवादको परिणाम ?, मैले उही बेला भनेको थिएँ नि ?’ नेता पौडेलले यही जेठ ५ गते आयोजिक कांग्रेसका एक कार्यकर्ताको छोराको ब्रतबन्ध कार्यक्रममा पनि सिर्जना सिंहमाथि सार्वजनिक रूपमै वंशवादको आरोप लगाएका थिए, तर त्यहाँ कांग्रेस निकट पत्रकारहरू मात्रै भएका कारण मिडियामा आएन ।

तर, केही दिनपछि पौडेलले टेलिफोन गरेरै वंशवादको आरापलाई बाहिर ल्याए । आखिर किन यो कुरा बाहिर ल्याए पौडेलले ? पौडेलको यो प्रतिक्रियालाई कांग्रेस कार्यकर्ताहरूले कसरी लिएका छन् ? के सिर्जना सिंहको राजनीति वंशबाद हो त ? भन्ने तमाम प्रश्नहरू खडा भएका छन् ।

-सौर्य दैनिकबाट

प्रकाशित : शनिबार, जेठ २८, २०७९०९:३६

पौडेलको भविष्य देउवाको हातमा !