काठमाडौँ – नेपाली कांग्रेस वृत्तमा नेता पौडेललाई केहीवर्ष अघिसम्म भावी सभापति तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएको थियो । तर उनको आफ्नै कमजोरीका कारण त्यो संभावना टरेको छ । सभापति देउवाको निगाहबाहेक रामचन्द्र पौडेलको राजनीतिक भविष्य अब छैन । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
देउवाबाट निगाह पाउनकै लागि पौडेलले कांग्रेसका अन्य नेताहरूलाई दुर्वचन लगाउन थालेका त होइनन् ? भन्ने अड्कलबाजी सुरु भएको छ । यसै पनि पौडेललाई लघुताभाषी नेताका रूपमा कार्यकर्ताहरूले चिन्ने गरेका छन् ।
राष्ट्रिय नेता भएर पनि उनको सोच र चिन्तनको दायरा अत्यन्त साँघुरो हुने गरेको बेलाबेलामा पुष्टि भइरहेको छ । पार्टीकै कार्यकर्ताले पनि उनलाई ‘सानो चित्तको’ भनेर कुरा काट्ने गरेको पाइन्छ ।
सिर्जना सिंहमाथि वंशवादको आरोप लगाउने पौडेल आफैँ परिवारवादको जालोमा जेलिँदै गएका छन् । उनले आफ्नो छोरा चिन्तन पौडेललाई निकै कसरत गरेर गरिब घरपरिवार परिचय बोर्डको कार्यकारी निर्देशक मनोनीत गरेका थिए ।
आर्थिक रूपमा अत्यान्त विवादास्पद मानिने सम्धी युवराज भुसाललाई नेता पौडेलले पुननिर्माण प्राधिकरणको प्रमुख नियुक्त गरे, यतिले मात्रै नपुगेर सम्धी भुसाललाई राष्ट्र बैंकको गभर्नर बनाउन उनले निकै चलखेल गरेका थिए । त्यसो त पौडेलले आफ्ना ज्वाइँ परमेश्वर पोखरेललाई खानेपानी संस्थानको महाप्रबन्धकसमेत नियुक्त गर्न भ्याए ।
छोरी संज्ञा पौडेललाई नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सदस्य मनोनीत गराए । अघिल्लो स्थानीय निर्वाचनमा भाइ ओजराज पौडेललाई व्यास नगरपालिका–८ को अध्यक्ष पदमा टिकट दिलाए । पौडेलको पछाडि लाग्ने नेता–कार्यकर्ताको पंक्ति ठूलो छैन ।
आफूप्रति निष्ठावानहरूलाई संरक्षण गर्न नसक्ने वा नगर्ने भएकाले पनि उनलाई धेरैले लामो समयसम्म साथ दिने गरेको देखिन्न । उनी केवल आफ्नो स्थान सुरक्षित बनाउन दिलोज्यानले लाग्ने गरेको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ ।

