एजेन्सी – युवा स्ट्राइकर डार्विन नुनेज भित्र्याउने योजनाबाट प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड ब्याक हुने भएको छ। नुनेजका लागि लिभरपुलसँग प्रतिष्पर्धा गर्नुपर्ने र त्यसले नुनेजको ट्रान्सफर मूल्य थप बढाउने देखिएसँगै युनाइटेड ब्याक हुने भएको हो।
चर्चित खेल मिडिया ‘गोल’का अनुसार युनाइटेडले नुनेज भित्र्याउने दौडबाट पछि हट्ने निर्णय गरिसकेको छ। नुनेजलाई भित्र्याउन गरिएको सबै प्रयास असफल भइसकेको युनाइटेडको निष्कर्ष रहेको छ।
पछिल्लो घटनाक्रम अनुसार नुनेज लिभरपुलमा ल्याण्ड हुने उच्च सम्भावना देखिन्छ। आधिकारिक पुष्टि नभएपनि नुनेज लिभरपुल जान मौखिक रुपमा तयार भइसकेको समेत खबर आएका छन्।
बेन्फिका र लिभरपुल बीच निर्णायक बैठक हुन बाँकी रहेको बताइन्छ। यधपी दुई पक्ष बीच नुनेजका सम्बन्धमा यस अगाडी नै गम्भीर छलफल भइसकेको छ। नुनेजका लागि लिभरपुल १ सय मिलियन युरो सम्म खर्च गर्न तयार छ। तर लिभरपुल सो रकम किस्ता-किस्ता गरेर तिर्न चाहन्छ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप नुनेजका प्रशंसक समेत हुन्। क्लोपले च्याम्पियन्स लिगमा बेन्फिकाको सामना गर्दा देखि नै उनलाई नियालिरहेका थिए। त्यसबेला नै उनले नुनेजको खुलेर प्रशंसा गरेका थिए।
नुनेज दायाँ र बायाँ दुवै तर्फबाट खेल्न सक्छन्। च्याम्पियन्स लिगमा पनि उनले सन् २०२१-२२ को सिजनमा धेरै राम्रो गरेका थिए। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा लिभरपुल विरुद्ध नै उनले दुई गोल गरेका थिए।