एजेन्सी – रोबर्ट लेवान्डोस्कीले जर्मन च्याम्पियन्स बायर्न म्युनिख छाड्ने लगभग पक्का भइसकेको छ। लेवान्डोस्की कुनै पनि हालतमा बायर्नमा रहने पक्षमा छैनन्। लेवान्डोस्कीले सार्वजनिक रुपमा बायर्नमा आफ्नो कथा सकिएको बताइसकेका छन्।
लेवान्डोस्कीले आफूलाई अन्यत्र जान दिन र ट्रान्सफरको लफडा सकारात्मक ढंगबाट समाधान गर्न आग्रह गरिसकेका छन्। लेवान्डोस्कीले क्लब छाड्ने भएसँगै बायर्नलाई उनको स्थान लिने खेलाडी चाहिएको छ।
बायर्नले उनको स्थानमा लिभरपुलका स्टार साडियो माने ल्याउन चाहेको छ। गएको केहि समय देखि बायर्न त्यसैको तयारीमा छ। बायर्नले लिभरपुललाई दुई पटक प्रस्ताव गरिसकेको छ। तर लिभरपुलले दुवै प्रस्ताव अस्विकार गरेको विभिन्न खेल मिडियाहरु बताउँछन्।
बायर्न मानेका लागि बोनस सहित ३० मिलियन युरो सम्म तिर्न तयार छ। तर लिभरपुल भने मानेका लागि कम्तीमा ४२ मिलियन युरोको माग गरिरहेको छ। मानेका लागि बढी खर्च हुने भएपछि बायर्नले क्लबका विभिन्न खेलाडीहरु बिक्री गर्ने तयारी गरिरहेको छ।
जर्मन मिडिया विल्डको दावीलाई मान्ने हो भने बायर्नले लेवान्डोस्की सहित ८ खेलाडीलाई बिक्री गर्ने तयारी गरेको छ। ओमार रिचर्ड्स, जोशुआ जिर्कजी, क्रिस्चियन फ्रुचल्ट र क्रिस्टोफर स्कटलाई बायर्नले बिक्री गर्न सक्ने विल्डको दावी छ। त्यस्तै सरप्रीत सिंह, मार्क रोका र मार्सेल सबिट्जरलाई समेत बायर्नले बिक्री गर्न सक्ने बताइन्छ।