पिएसजी र लिभरपुललाई झड्का दिँदै फ्रान्सेली युवा स्टार रियल म्याड्रिडमा !

एजेन्सी – फ्रान्सेली युवा स्टार मिडफिल्डर ओरेलिएन चुवामेनी स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रियलले चुवामेनीलाई फ्रान्सेली क्लब मोनाकोबाट ८५ मिलियन पाउन्डमा ६ वर्षको लागि अनुबन्ध गरेको हो ।

यो सँगै २२ वर्षीय चुवामेनी २०२८ सम्म सान्टियागो बर्नबेउमा हुनेछ । उनको शनिबार मेडिकल भइसकेको छ । रियलले चुवामेनीलाई १४ जुनमा आधिकारिक रुपमा सार्वजनिक गर्ने योजना बनाएको छ ।

ओरलिएन चुवामेनीलाई अनुबन्ध गर्न फ्रान्सेली क्लब पिएसजीसँगै इंग्लिस क्लब लिभरपुलले पनि चासो देखाएपनि उनले युरोपियन च्याम्पियन क्लब रोजेका हुन् ।

बक्स टु बक्समा खेल्न सक्ने चुवामेनी रियलमा सर्वाधिक महँगोमा अनुबन्ध हुने चौथो खेलाडी बनेका छन् । यसअघि क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल र इडेन हाजार्ड रियलले क्लब इतिहासमा अनुबन्ध गरेका महँगा खेलाडी हुन् ।

जर्मन डिफेन्डर एन्टोनियो रुडिगरपछि नयाँ सिजनको लागि रियलको यो दोस्रो अनुबन्ध हो । रुडिगर फ्रि एजेन्टमा इंग्लिस क्लब चेल्सीबाट रियलमा अनुबन्धित भएका हुन् ।

चुवामेनीको आगमनले रियलमा अब इडुआर्डाे कामाभिंगा, फेडे भाल्भेर्डे र चुवामेनीको ट्रिओ मिडफिल्ड बन्नेछ । यो ट्रिओले क्यासमिरो, लुका मोड्रिच र टोनी क्रुसको ऐतिहासिक र अत्यन्त सफल ट्रिओलाई विस्थापित गर्ने विश्वास गरिएको छ । लुका मोड्रिचले यसै साता रियलसँग थप १ वर्षको सम्झौता नविकरण गरिसकेको छ ।

क्यासमिरो, लुका र टोनीको ट्रिओ मिडफिल्डलाई विश्वकै उत्कृष्ट ट्रिओ मिडफिल्डरको रुपमा हेरिने गर्दछ । रियलमा यि तीनै खेलाडीको सम्झौता सकिने संघारमा छ । सोही कारण पनि रियलले उनीहरुको विकल्पमा नया मिडफिल्ड तयार पारिरहेको छ ।

चुवामेनीले गत सिजन मोनाकोका लागि ५० खेल खेलेका थिए । मोनाको फ्रेन्च लिग वानमा तेस्रो हुँदा उनको प्रदर्शनले सबैको ध्यान खिच्न सफल भएको थियो । गत सेप्टेम्वरमा फ्रान्सको सिनियर टोलीमा डेब्यु गरेका चुवामेनीले फ्रान्सका लागि ११ क्याप जित्दा १ गोल गरेका छन् ।

प्रकाशित : शनिबार, जेठ २८, २०७९२०:०१

स्पेनका प्रशिक्षक भन्छन् – ‘विश्वकपका मुख्य दावेदार अर्जेन्टिना र ब्राजिल हुन्’